
काठमाडौः सभामुख कृष्णबहादुर महराले गोरखा सैनिकहरूको समस्या समाधान गर्न बेलायतसँग आग्रह गरेका छन्। शुक्रवार सभामुखको कार्यालय सिंहदरबार पुगेका बेलायती राजदूत रिचर्ड मोरिससँग महराले यस्तो आग्रह गरेका हुन्।
'दुवै देशले छलफल गरी गोरखा सैनिकको समस्या समाधान गर्नुपर्ने भन्दै सभामुख महराले उनीहरूको हितमा दुवै देशले मिलेर काम गर्नुपर्ने बताउनुभयो,' सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले भने। उनले समस्या समाधानका लागि छिट्टै समझदारी हुने समेत विश्वास व्यक्त गरे।
भेटमा दुर्इ देशबीच आपसी हित र सहकार्यका विषयमा कुरा भएको थियो।
त्यस्तै संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्नेतर्फ सोचिरहेको भन्दै सभामुख महराले यस्ता संघले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मौका मिल्ने समेत बताएका थिए।
भेटमा सभामुख महराले बेलायतको संसदीय टोलीले नेपाल भ्रमण गर्ने खबर सुनेको भन्दै उक्त टोलीलाई स्वागत गर्न र नेपालका सांसदहरूलाई बेलायत पठाएर त्यहाँको अनुभव सिक्न आफू पनि इच्छुक रहेको बताएका थिए।
सभामुखसँगको भेटमा बेलायती राजदूत रिचर्ड मोरिसले प्रतिनिधि सभाको सभामुख भएकोमा बधाई ज्ञापन गरेका थिए। उनले बेलायत र नेपालको सम्बन्ध निकै पुरानो र गहिरो रहेको भन्दै आगामी दिनहरूमा यो सम्बन्धलाई अझै दिगो र सुमधुर बनाउनुपर्ने बताएका थिए।
यसैबीच उनले बेलायतको संसदीय मैत्री संघको टोली नेपाल आउन लागेको समेत जानकारी दिएका थिए। राजदूत मोरिसले दुई देशबीचको संसदीय अनुभव आदान प्रदान गर्न भ्रमणले थप फलदायी हुनेमा विश्वास व्यक्त गरे। भेटवार्तामा संघीय संसद्का महासचिव मनोहर प्रसाद भट्टराई, प्रवक्ता डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।