PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

यसकारण मौसम चिस्याउँदै काठमाडौंमा असिना र पानी



पहिलोपोस्ट

यसकारण मौसम चिस्याउँदै काठमाडौंमा असिना र पानी

काठमाडौँ : तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।

उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए। उनका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा पूर्ण बदली छ। 

पश्चिमको बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले साँझपख काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगमा बदली र मेघ गर्जनसहित वर्षा हुनेछ। केही स्थानमा भने हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केहिबेरअघि काठमाडौँका उत्तरी क्षेत्रमा मेघ गर्जन र असिनासहितको वर्षा भएको छ।

मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने मौसमविद् रिमालको भनाइ छ। बिहीबारदेखि विकसित मौसमी प्रणालीले बदली गराउनाका साथै मेघ गर्जनसहित वर्षा गराएको हो। केही समय आकाश खुले पनि पुनः बदली र वर्षा गराउनेछ।


महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा २ मिलिमिटर वर्षा भएको छ। यस्तै ताप्लेजुङमा दुई र पोखरामा दुई मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँ उपत्यकाको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell