
हेटौँडा : प्रदेश नंं ३ को आज बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ।
समितिमा नेकपा (एमाले)बाट पाँच र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा(प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक/एक गरी १३ सदस्य रहेका छन्।
सदस्यमा एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर र डा रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का र जगत सिंखडा, कांग्रेसबाट छिरिङदोर्जे लामा, राष्ट्रिय जनशक्ति पार्टीबाट प्रभात तामाङ, विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं, राप्रपाबाट रीता माझी, राप्रपा(प्रजातान्त्रिक)बाट रीना गुरुङ रहेका छन्।
समितिले राजधानीका लागि सम्भावित ठाउँको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदले माग दावी गर्दै संसद्मा निवेदन दर्ता गराएका थिए।
प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नाम र राजधानी तोक्ने प्रावधान संविधानमा छ।
यसअघि आजको बैठमा मुख्यमन्त्री डोरमणि पौडेलले पेश गरेको गाउँ नगर र जिल्ला सभा सञ्चालन गर्न बनेको विधेयक र स्थानीय निकायको निर्वाचित पदाधिकारी एवं सदस्यलाई सेवा सुविधा (पारिश्रमिक) सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश ३ को प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले आजैका मितिदेखि प्रदेशसभाको बैठक अन्त्य गरिएको जानकारी दिँदै प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाउनुभएको सन्देश पढेर सुनाएका थिए।