काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर अझै पनि स्वस्थ भएका छैनन्। उनी स्वस्थ नहुँदा पार्टीका बैठकहरु प्रभावित हुँदै आएको छ।
करिब दुई सातापछि दिल्लीबाट उपचार गरी फर्केका ठाकुरको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको राजपाका उपाध्यक्ष बृषेशचन्द्र लालले पहिलोपोस्टलाई जानकारी दिए।
लालका अनुसार ठाकुरको छाती दुखाईमा भने अझै कमी आएको छैन। अस्पतालले पनि ठाकुरलाई आराम गर्न सल्लाह दिएको छ। लालका अनुसार ठाकुरलाई स्वस्थ हुन अझै एक साता लाग्न सक्नेछ। ठाकुर भक्तपुर सानोठिमीस्थित निवासमा चिकित्सकको निगरानीमा रहेको उनले बताए।
सात वर्ष पहिले ठाकुरको मुटुमा पेसमेकर लगाइएको थियो। पछिल्लो समय नियमित उपचार गराउन नसकेका ठाकुरको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। दिल्लस्थित मेदान्ता अस्पतालमा एक सातासम्म ठाकुरको सघन उपचार भएको थियो।
ठाकुर स्वस्थ नहुँदा बैशाख ८ गतेका लागि बोलाइएको राजनीतिक समितिको बैठक हालसम्म बस्न सकेको छैन। राजनीतिक समितिलगतै केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरिएको थियो।
राजनीतिक समितिको बैठक बस्न नसक्दा राजपाले संसदीय दलको विधानसमेत पारित गर्न सकेको छैन। जसकारण हालसम्म राजपाको संसदीय दलको नेता चयन हुन सकेको छैन।
दिल्ली मै उपचाररत राजपा अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र यादव हालसम्म नेपाल फर्केका छैनन्। उनी आइतबार पछि फर्किने राजपाले जनाएको छ।
संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य यादव उपचारकै क्रममा रहँदा अन्य नेताहरु भने जिल्ला दौडाहामा छन्।
राजेन्द्र महतो सर्लाहीमा कार्यकर्ता भेटघाटमा व्यस्त छन् भने राजकिशोर यादव पनि जिल्लातिरै लागेका छन्।