पोखरा : भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौँ दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन्। भारतकै बिश्वरजित साईखाम ५९ मि. ५७ सेकेन्डका साथ रजत र नेपालका बशन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेन्डका साथ कास्य पदक हात पारे।
महिलातर्फ उक्त दूरी समिराले १ घण्टा ४ मिनट ५० सेकेण्डमा पुरा गरिन्। दोश्रो भएकी भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनेट ४२ सेकेन्ड र तेश्रो भएकी नेपाली खेलाडी सोनी गुरुङले १ घण्टा १३ मिनेट ८ सेकेण्डमा पुरा गरिन्।
प्रतियोगिताको खुला पुरुषतर्फ पनि मनिचन्द्रले स्वर्ण, बिश्वरजितले रजत र बशन्त चौधरीले कास्य जिते। महिलातर्फ स्पेनकी इश्वराले स्वर्ण हात पारिन्। उनले उक्त दूरी १ घण्टा ३ मिनेट ३४ सेकेण्डमा पुरा गरिन्। दोश्रो स्थानमा भारतकी समिरा र तेश्रो स्थानमा प्रग्नया रहे।
यस्तै नेपाल पर्वतीय खेलकुदअन्तर्गत भएको आठौँ राष्ट्रिय ट्रायथलन प्रतियोगितातर्फ पुरुषमा नेपाली सेनाले वर्चस्व रह्यो। सेनाका बशन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेन्डका साथ स्वर्ण हात पार्दा दिपेश चौधरीले १ घण्टा १ मिनेट १८ सेकेण्डका साथ रजत र रुद्र कटुवालले १ घण्टा ४ मिनेट ४३ सेकेण्डका साथ कास्य जिते।
महिलातर्फ एपीएफकी सोनी गुरुङले १ घण्टा १३ मिनेट ८ सेकेण्डका साथ स्वर्ण, गोहाटीमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा ब्यक्तिगततर्फ कास्य र टिम स्पर्धामा रजत पदक प्राप्त काठमाडौं रोजा के.सी.ले १ घण्टा १७ मिनेट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले १ घण्टा २४ मिनेट १ सेकेण्डका साथ कास्य हात पारिन्।
यसैगरी लेक साईडमा भएको प्रतियोगिताको ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ र २.५ कि.मि. दौड सेनाका मानबहादुर थापाले जिते। उनले उक्त दूरी मान बहादुरले ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पार्न सफल भए। एपीएफका किरण मल्लले ५५ मिनेट ३९ सेकेण्ड र लक्ष्मण मल्लले ५५ मिनट ५३ सेकेण्डमा पुरा गर्दै रजत र कास्य पाए।
महिलातर्फ दुइ खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपीएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन्। हुमाले १ घण्टा १० मिनट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनट २३ सेकेण्डमा दूरी पुरा गरे।