PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ६ र ७ विजयी



पहिलोपोस्ट

यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश ६ र ७ विजयी

काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिवार प्रदेश नम्बर ६ र ७ ले जित हात पारेका छन्।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा प्रदेश ७ ले प्रदेश ४ लाई १०५ रनको फराकिलो अन्तरले हरायो भने समूह बी मा प्रदेश ६ ले प्रदेश ३ लाई ७ विकेटले पराजित गर्‍यो।

प्रदेश ७ ले टस ले जितेर पहिले ब्याटिङ गर्दै २५.४ ओभरमा अलआउट हुँदै १८६ रन बनाएको थियो। २९ रन हुँदा ८ विकेट गुमाएको प्रदेश ७ का लागि विनोद खत्री र नरेन्द्र साउदले नवौँ विकेटका लागि १५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। विनोदले ६९ बलमा १३ चौकाको मद्दतमा ८० रन बनाए। यस्तै नरेन्द्रले ४६ रन जोडे। बलिङमा प्रदेश ४ का कृष्ण पौडेलले ४ तथा मेख बहादुर सेनले ३ विकेट लिए।

जवाफमा १८७ रनको लक्ष्य पछ्याएको प्रदेश ४ ले ३० ओभर पुरै खेल्दा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। उसका लागि अनिल बरालले सर्वाधिक १६ रन बनाए। बलिङमा प्रदेश ७ का नरेन्द्र साउद र राहुल बहादुरले २-२ विकेट लिए। दुवैले समान ६ ओभर बलिङ गर्दा नरेन्द्रले १ मेडन राख्दै ६ तथा राहुलले २ मेडन राख्दै ८ रन मात्र खर्चे।

यस्तै १६ ओभरमा घटाइएको खेलमा प्रदेश ६ ले प्रदेश ३ लाई ७ विकेटले हराउँदा प्रकाश जैशी र लिपेश पुनले उत्कृष्ट ब्याटिङ गरे।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले १६ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो। ११४ रनको लक्ष्य प्रदेश ६ ले १ बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो।

प्रदेश ६ का लागि प्रकाशले ५१ रन बनाए भने दिपेशले नटआउट ४५ रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell