PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कांग्रेस केन्द्रीय समितिको 'फाइनल' अझै अनिश्चित



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिको 'फाइनल' अझै अनिश्चित

काठमाडौं: नेपाली कांग्रेसको चुनावी समीक्षाका लागि बसेको केन्द्रीय समितिको फाइनल बैठक आज पनि शुरु हुन सकेको छैन। आइतबार बिहान ९ बजेका लागि बोलाईएको बैठक यो समाचार तयार पार्दासम्म शुरु भएको छैन।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिएसँगै आजको बैठक पनि अनिश्चित बनेको छ। पार्टीको भावी कार्यक्रम र प्रस्तुति कस्तो रहने भन्ने विषयमा महामन्त्री शशांक कोइरालाको प्रतिवेदनलाई लिएर कांग्रेसमा तनाव उत्पन्न भएको हो।

चैत ९ बाट जारी बैठक छिट्टै सकिने भनिए पनि विभिन्न कारणले महिना दिनभन्दा बढी लम्बिएको छ। शुक्रबार नै फाइनल हुने भनिए पनि सभापति शेरबहादुर देउवाको व्यवस्ता देखाउँदै केन्द्रीय समिति शनिबारका लागि स्थगित गरियो। शनिबार महामन्त्रीको प्रतिवेदनमाथि नै विवाद भएको कांग्रेसले जनाएको छ।

विवाद साम्य बनाएर शनिबारै बैठक बस्ने तयारी गरेपनि साँझ ८ बजे बैठक स्थगित भएको जानकारी गराइयो।

महासमिति कहिले तोक्ने, हारको जिम्मा कसले लिने भन्ने विषय र पदाधिकारी विवाद कांग्रेस केन्द्रीय समितिमा चर्केको छ। यसका लागि देउवा र पौडेल पक्षले अआफ्नै दाबी गरेकोले साम्य हुन अझै समय लाग्न सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए। बैठक आजै सकाउने आशामा केन्द्रीय सदस्यहरु सानेपा जम्मा भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell