काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतवार भएको खेलमा प्रदेश नम्बर १ र ५ ले जित हात पारेका छन्।
कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ३ रन अन्तरले हरायो भने समूह बी मा प्रदेश १ ले प्रदेश ६ लाई ४ विकेटले पराजित गर्यो।
तीन टिम मात्र रहेको समूह बी मा प्रदेश १ ले जित हात पारेसँगै सबै टिमको समान २ अंक रहेको छ। रनरेटमा प्रदेश ३ समूह विजेता तथा प्रदेश १ समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
उता ३ रनको रोमाञ्चक जित हात पारेको प्रदेश ५ ले समूह ए मा पहिलो जित हात पारेको छ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले सिजन मकाजुको अर्धशतक मद्दतमा निर्धारित ३० ओभर खेल्दै सबै विकेट गुमाएर १५३ रन बनाएको थियो। मकाजुले ६२ बल खेल्दै समान ३ चौका र छक्काको मद्दतमा ६१ रन बनाए। प्रदेश २ का सोनु शर्माले ३ तथा विवेक यादव, निखिल सिंह र विक्रम शकुशवाले २-२ विकेट लिए।
जवाफमा १५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो। तृत राज दासले ६१ रन बनाएपनि टिमलाई जिताउन सकेनन्। यस्तै विवेक यादवले २५ रन बनाए।
प्रदेश २ लाई जितबाट रोक्न प्रदेश ५ का कुशल मल्ले ३ तथा रमेश कुर्मीले २ विकेट लिए।
यस्तै समूह बी मा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि प्रदेश १ ले प्रदेश ६ लाई ४ विकेटले हरायव।
टस जितेर पहिले फिल्डिङ गरेको प्रदेश १ ले प्रदेश ६ लाई २०.२ ओभरमा ९४ रनमै अलआउट गर्यो। प्रदेश ६ का लागि कप्तानी प्रकाश जैशीले ३३, बबि कुमराले १६ तथा दीपेश पुनले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङमा प्रदेश १ का दीपेश कँडेलले ३ तथा लभ कामत र नभनित कर्णले २-२ विकेट लिए।
९५ रनको लक्ष्य प्रदेश १ ले २६ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। उसका लागि नभनितले नटबउट रहदै सर्वाधिक २५ रन योगदान गरे। कप्तान लभ कामतले २१ तथा दीपेश कँडेलले ११ रन जोडे। अभिषेक बराल १५ रनमा नटआउट रहे। बलिङमा प्रदेश ६ का प्रकाश जैशी र दिपक थापाले २-२ विकेट लिए।