PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन कुन आधारमा? न संविधानमा, न ऐनमा छ व्यवस्था



बीपी साह

प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन कुन आधारमा? न संविधानमा, न ऐनमा छ व्यवस्था

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश  ५ को प्रदेश सभालाई सम्बोधन गरे। तर ओलीले कुन आधारमा प्रदेश संसदमा सम्बोधन गरेको भन्ने खुलाइएको छैन।

नेपालको संविधानको धारा १८४ मा प्रदेश प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने उल्लेख भए पनि प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने कुनै व्यवस्था गरिएको छैन।
 
प्रदेश ४ को प्रदेश सभाको बैठक वैशाख २१ गतेका लागि आह्वान भएको थियो। तर हिजो अचानक प्रदेश सभाको सचिवालयले सूचना टाँस गरी आज विशेष बैठक आह्वान गरेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभाको बैठक सञ्चालन हुँदा सभामुखसँगैको कुर्सीमा बसेका थिए। 

प्रदेश ५ का प्रमुख सचिव शंकरप्रसाद पाठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन बारे प्रश्न गर्दा उनले यो ऐन नियममा नभएको स्वीकारे। भने, ‘ऐन/नियममा छैन। प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने पनि कहीँ कतै छैन। त्यसकारण प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो। आफ्नो देशभित्र सम्बोधन गर्नु राम्रो हो।’

प्रमुख सचिव पाठकले आफूले समय मिलाउन भनी प्रदेश सभालाई लेखेको र सोही अनुसार सम्बोधनको समय मिलाइएको जानकारी दिए।

यता प्रधानमन्त्री ओलीको प्रदेश सभामा सम्बोधन बारे संघीय संसद सचिवालयका सह प्रवक्ता केशव अर्यालले प्रदेश सभाको नियमावली अनुसार सम्बोधन भएको हुनसक्ने बताए। तर उनी पनि प्रष्ट भने थिएनन्।

नेपालमा पहिलो पटक प्रदेश सभा गठन भएको र पहिलो पटक प्रधानमन्त्रीले सम्बोधन गरेको हुनाले यसबारे अन्यौल छ। 

विदेशमा के छ त व्यवस्था?

छिमेकी देश भारतमा प्रदेश सभालाई विधान सभा भनिन्छ। विधान सभामा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म सम्बोधन गरेका छैनन्। तर राष्ट्रपति रामनाथ कोविन्दले भने गत वर्षको अक्टोबरमा कर्णाटकको, नोभेम्बरमा मिजोरमअरुणाचल प्रदेशको विधान सभामा सम्बोधन गरेका थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell