
बार्सिलोनाले यस सिजनको ला लिगाको उपाधि जितेको छ। लियोनल मेसीको ह्याट्रिक मद्दतमा डेपोर्टिभा ला कुरानालाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले ४ खेल अगावै उपाधि जितेको हो।
मेसीले ३८औँ, ८२औँ र ८५औँ मिनेटमा गोल गरे। त्यसअघि सातौँ मिनेटमै फिलिप काउटिन्होले गोल गर्दै बार्सलाई अग्रता दिलाएका थिए। ला कुरानाका लागि घरेलु मैदानमा लुकास पेरेज र इम्रे कोलाकले गोल गरे। क्लब र देशका लागि गरेर मेसीको यो ४६औँ ह्याट्रिक हो।
३४ खेलबाट बार्सिलोनाको ८६ अंक छ। अलाभेजलाई १-० ले पराजित गरेको एट्लेटिको मड्रिड ३५ खेलबाट ७५ अंककका साथ दोस्रो स्थानमा छ। एट्लेटिकोले बँकी ३ खेल जितेपनि अब बार्सिलोनालाई भेट्नेछैन।
अघिल्लो साता कोपा डेल रे को उपाधि समेत जितेको बार्सिलोनालाई ला कुरानाले गार्ड अफ अनर समेत प्रदान गरेको थियो।
यस सिजन बार्सलोनाले ३४ खेलमा अपराजित यात्रालाई कायम राखेको छ। अब बाँकी रहेको ४ खेलमा हार टार्न सके बार्सिलोनाले अपराजित रहदै च्यानम्पियन बन्ने कीर्तिमान राख्नेछ।
नयाँ प्रशिक्षक एर्नेस्ट भलभ्रेडको यो पहिलो ला लिगा उपाधि हो। यससँगै बार्सिलोनाले २५औँ ला लिगाको उपाधि जितेको छ। रियल मड्रिडले सर्वाधिक ३३ पटक उपाधि जितेको छ।