
प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानेचष्टर सिटीले वेष्टहमलाई ४-१ ले पराजित गर्दै यस सिजन प्रिमियर लिगममा १०० गोल पुरा गरेको छ।
वेष्टहम विरुद्ध दोस्रो गोल गरेसँगै सिटीले उक्त उपलब्धी हासिल गरेको हो।
सिटीको जितमा लरे साने, गाब्रसिएल जेसस र फर्नान्डोन्होले गोल गरे। सिटीकै पूर्व खेलाडी पाब्लो जाबालेटाले आत्मघाती गोल उपहार दिए।
यस सिजन सिटीले ३५ खेलबाट ९३ अंक जोडिसकेको छ। लिगमा अझै तिन खेल खेल्न बाँकी रहदा सिटीले सर्वाधिक अंक जोड्ने, एकै सिजन सर्वाधिक गोल गर्ने र फराकिलो अन्तरमा लिग जित्ने कीर्तिमान बनाउन सक्नेछ।
सन् २००४-०५ मा चेल्सीले सर्वाधिक ९५ अंक जोडेको थियो। यस्तै २००९-१० मा चेल्सीले नै १०३ गोल गरेको थियो। १०२ गोल गरेको सिटी सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गर्न १ गोलले टाढा छ। सिटीले एकै सिजन सर्वाधिक खेल जित्ने कीर्तिमान समेत बनाउन सक्नेछ।
सन् २०१६-१७ को सिजनमा चेल्सीले ३० खेल जितेको थियो र सिटीले उक्त कीर्तिमान बराबरी गरिसकेको छ। यस सिजन सिटीले ३५ मध्ये ३० खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ। दुई खेलमा भने सिटी पराजित भएको थियो।
यस्तै अर्को म्यानचेष्टर क्लब युनाइटेडले आर्सनललाई २-१ ले पराजित गर्दै शीर्ष चारमा रहने पक्का गरेको छ। यस्तै युनाइटेडले सिटी पछि दोस्रो स्थानमा लिग सकाउने अभियानलाई पनि कायम राखेको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा माराउने फलानीले इन्जुरी टाइममा गोल गरेपछि युनाइटेडले आर्सनलाई पराजित गरेको हो। त्यसअघि पउल पोग्वाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने युनाइटेडकै पूर्व खेलाडी हेनरिख मिख्यातर्यानले आर्सनलका लागि बराबरी गोल फर्काएका थिए।
जितपछि युनाइटेडको ३५ खेलबाट ७७ अंक भएको छ। ३६ खेलबाट ७२ अंक रहेको लिभरपुल तेस्रो तथा ३४ खेलबाट ६८ अंक रहेको टोटनहम तेस्रो स्थानमा छ।
पराजयपछि लण्डन क्लब आर्सनलको शीर्ष चारमा रहदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समाप्त भएको छ। आर्सनलले अब युरोपा लिगमा स्थान बनाउन संघर्ष गर्दैछ। ३५ खेलबाट ५७ अंक रहेको आर्सनल छैटौँ स्थानमा छ। ३६ खेलबाट ५४ अंक जोडेको बर्नीले आर्सनललाई टक्कर दिइरहेको छ।