
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरे पनि संसदको नियमावलीको मस्यौदा तयार हुन सकेको छैन।
चालु संसदको दोस्रो अधिवेशन आउँदो आइतबारका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट पनि पेश गर्नेछ।
तोकिएको समयभित्र नियमावलीको मस्यौदा तयार पार्न असफल संसदको नियमावली मस्यौदा समितिले बजेट अधिवेशन आह्वान हुँदासमेत नियमावलीलाई अन्तिम रुप दिन सकेको छैन।
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने अथवा नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षीबीच विवाद हुँदै आएको छ। फौजदारी अभियोगमा थुनामा रहेका सांसदलाई निलम्बन गर्नुपर्ने सत्तापक्षको अडान रहेको छ भने कांग्रेस र मधेशवादी दलले निलम्बन गर्न नहुने अडान राखेको छ।
त्यसैगरी संघीय संसदको समितिका विषयमा पनि सहमति हुन सकेको छैन। सत्तारुढ गठबन्धनले दश वटा अथवा आवश्यकता अनुसार थप हुने गरी समिति राख्ने पक्षमा छ भने कांग्रेसले बढी सात अथवा सोभन्दा कम हुनुपर्ने जनाउँदै आएको छ।
संविधान संशोधनको विषय र राष्ट्रपतिमाथि महाअभियोग एकै पटक दुवै सदनमा राख्ने कि प्रतिनिधिसभामा मात्र राख्ने विषयमा पनि विवाद छ।
समितिका सभापति कृष्णभक्त पोखरेलले सहमतिका लागि छलफल जारी रहेको जानकारी दिए। उनले शीर्ष नेताबीच छलफल जारी रहेको जानकारी दिँदै बुधबारसम्म टुंगो लाग्ने बताए।
तर, छलफलबाटै मस्यौदामाथि सहमति हुने सम्भावना कम रहेको संघीय समाजवादी फोरम नेपालका सांसद विमल श्रीवास्तवले बताए। उनले समितिमा मतदानसमेत हुन सक्ने बताए।
मस्यौदामाथि समितिभित्रै मतदान हुने हो भने सत्तारुढ पक्षको बहुमत रहेको छ।