
काठमाडौंः मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुने भनिएको नेपाल भ्रमणको विरोध गरेको छ।
मसालले नेपालमा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्न नहुने समेत बताएको छ। पार्टी महासचिव सिंहले विज्ञप्ति जारी गर्दै मोदीलाई नेपालमा स्वागत गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।
सिहंले मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमान र सम्मान विरुद्ध हुने बताएका छन्।
मोदीले नेपालमा तराईमा आफ्ना मुट्ठीभर पृथकतावादीहरुलाई उक्साएर तराईलाई नेपालबाट अलग गराउन वा राष्ट्रिय विखण्डनका लागि उक्साउने काम गरेको र नेपालको संविधानका विरुद्ध अन्तर्राष्ट्रिय अभियान नै चलाएको अारोप विज्ञप्तिमा लगाइएको छ।
मसालले मोदी कुनै पनि अवस्थामा नेपालको मित्र समेत नभएको समेत दाबी गरेको छ। महासचिव सिंहले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौँ ।’