PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एमाले–माओवादी एकता : कहाँ फुकेन गाँठो? संयोजन समितिका सदस्यलाई नै थाहा छैन



विधुर ढकाल

एमाले–माओवादी एकता : कहाँ फुकेन गाँठो? संयोजन समितिका सदस्यलाई नै थाहा छैन

काठमाडौं : वैशाख ४ गते बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका विवादित विषयमा सहमति जुटाउनका लागि दुई पार्टीका अध्यक्षहरुलाई जिम्मेवारी सुम्पियो। त्यसपछिका तीन दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दैनिक दुई–तीन घण्टा गोप्य वार्ता भए। तीन दिनका वार्ताले विवादित विषयहरु टुंग्याउन त सकेन तर वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा संयुक्त कार्यक्रम गरेर एकताको सन्देश दिने सहमति जुटायो।
 
गत चैत १९ गते पार्टी एकताका लागि गठन भएका दुई वटा कार्यदलले वैशाख ९ गते नै पार्टी एकता गर्न सुझाबसहितको प्रतिवेदन संयोजन समितिमा बुझाएका थिए। २२ गते बसेको संयोजन समितिको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किएपछि संयोजन समितिको बैठक बसी एकता प्रक्रिया टुंग्याउने निर्णय गर्‍यो तर यसबीचमा सहमति जुट्न सकेन। दुई सातासम्म समितिको बैठक बस्न सकेन।
 
त्यसपछिको बैठकमा समेत समितिको प्रतिवेदनमाथि छलफल भन्दा पनि नेतृत्वको कुरामा गएर अड्कियो। अहिले पार्टी एकता प्रक्रिया कहाँ पुग्यो भन्ने दुई पार्टीका अध्यक्ष बाहेक अन्य नेताहरुलाई जानकारी छैन।
 
‘दुई अध्यक्षले छलफल गरिरहनु भएको छ, एकता कहिले हुन्छ भन्ने कुरा उहाँहरुको निर्णयमा भर पर्छ,’ माओवादी केन्द्रका एक नेताले पहिलोपोस्टसँग भने, ‘मुल कुरा नेतृत्वमा गएर अड्किएको छ। नेतृत्वको विषयमा कुरा मिले पछि एकता पनि हुन्छ।’
 
पार्टी एकताका लागि गठन भएका कार्यदलले बुझाएको प्रतिवेदनमा जनयुद्ध, चुनाव चिन्ह र नेतृत्वको विषयमा विवाद भएपछि ती विषय उल्लेख गरिएका छैन। यी विषयलाई समाधान गर्नका लागि दुई अध्यक्षलाई जिम्मा दिइएको थियो।
 
जनयुद्धलाई पार्टीको विधानमा समेट्ने र चुनाव चिन्हका विषयमा सहमति जुटे पनि नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन।
 
‘हामीले पार्टी एकता सम्मानजनक हुनुपर्छ भनेका छौँ, हामीले अध्यक्षलाई पनि यस विषयमा जानकारी गराएका छौँ,’ माओवादीका ती नेताले भने, ‘पार्टी एकता गर्ने भनेको हो माओवादी एमालेमा विलय हुने भनिएको होइन।’

माओवादी अध्यक्ष प्रचण्डले एकतापछिको महाधिवेशनपछि पार्टीको नेतृत्व आफूले पाउनुपर्ने अडान राख्दै आएका छन्। यद्यपि, यस विषयमा प्रचण्ड स्वयमले भने कुरा बाहिर ल्याएका छैनन्। स्रोतका अनुसार ओलीसँगको 'वान अन वान' वार्तामा प्रचण्डले एकता महाधिवेशनपछि पार्टीको अध्यक्ष आफू बन्न पाउनुपर्ने बताउँदै आएका छन्। यसमा ओली सहमत छैनन्।

अनभिज्ञ छन् नेता पनि

सबै विषयहरु टुंगिँदै गए पनि एकता हुन नसक्नुको कारणबारे दुवै दलका दोस्रो तहका नेताहरु समेत अनभिज्ञ छन्। एकता हुन नसक्नुको गुदी कारण एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मात्र थाहा भएको एमालेका उपाध्यक्ष बामदेव गौतम बताउँछन्।

‘एकता नहुनुको कारण ओली र प्रचण्डबाहेक अरु कसैलाई थाहा छैन। उहाँहरुबीच के के कुरा भइरहेको उहाँहरुले हामीलाई जानकारी गराउनु भएको छैन्,’ गौतमले भने।
 
नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता र विभाजनका हरेक संघारमा सहभागि भएका उपाध्यक्ष गौतमले अहिले एमाले र माओवादी केन्द्रबीचको एकताको जटिलताबारे बुझ्न नसकेको बताए। 

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल सुनिलले पनि यस विषयमा दुई अध्यक्षले छलफल गरिरहेको र कहिले हुने भन्ने अनभिज्ञ रहेको बताए।

‘उहाँहरुबीच छलफल चलिरहेको छ, के छलफल भइरहेको छ? जानकारी छैन्,’ उनले भने।

लेनिन जयन्तिपछि मार्क्स जयन्ति पनि टर्दै

कार्यदलले सिफारिस गरेको लेनिन जयन्तिमा पार्टी एकता हुन नसपछि दुई अध्यक्षबीच एकता मार्क्स जयन्तिमा गर्ने विषयमा छलफल चलेको थियो। स्रोतका अनुसार दुई अध्यक्षबीच मार्क्स जयन्तिमा एकता घोषणा गर्ने गरी गोप्य बैठकमा छलफल चलेको थियो। तर, यस विषयमा निर्णय हुन सकेन।
 
वैशाखको दोस्रो साता चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाख १४ गते एकताको मिति घोषणा हुने उद्घोष गरेका थिए। तर, यसबीचमा दुवै अध्यक्षबीच खुला छलफल पनि हुन सकेको छैन। न त संयोजन समितिको बैठक नै बसेको छ।
 
प्रधानमन्त्री ओली सरकारको काम तथा पार्टीको अन्तरिक काममा व्यस्त हुँदै गर्दा प्रचण्ड राजधानी बाहिर उद्घाटन शिलन्यासमा व्यस्त देखिन्छन्। यस्तो अवस्थामा मार्क्स जयन्तिमा पनि एकताको घोषणा टर्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell