काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको प्रोफेसनल बक्सिङ इभेन्ट 'च्याम्प अफ दी च्याम्पियन्स(सीओसी)' को बेल्ट मनिष डंगोलले जितेका छन्।
नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मनिषसँगै सरोज सेवा पुगेका थिए।
सेमिफाइनलमा मनिष डंगोलले सुरेन्द्र कार्कीलाई तथा सरोज सेवाले यादव थापालाई पराजित गरेका थिए।
तर, फाइनल हुने बेला पारिवारिक कारण देखाउँदै अर्का फाइनलिस्ट सरोज विदेश गएपछि आयोजकले सोमवार मनिषलाई विजेता घोषणा गरेको हो।
'सरोज विदेश गएको हुनाले खेल तालिका अनुसार फाइनल गर्न सकेनौं, त्यसैले आयोजक सबैसँग सल्लाह गरेर मनिषलाई विजेता घोषणा गरेका हौँ,' म्याक्स बक्सिङ प्रोमोसनका सिइओ म्याक्स बस्नेतले भने। 'प्रोफेसनल बक्सिङमा यो नयाँ सुरुवात हो। आगामी वर्ष पनि हामी यसलाई निरन्तरता दिनेछौं र अझ राम्रो गर्नेछौं।'
च्याम्पियन मनिसले च्याम्प अफ च्याम्पियन्सको बेल्टसँगै नगद २ लाख पुरस्कार हात पारेका छन्।
डान्सिङ याकका सुजित डंगोलले मनिसलाई बेल्ट प्रदान गरे भने नेपाल प्रोफेसनल बक्सिङ कमिसनका कोषाध्यक्ष लाल बहादुर महर्जनले २ लाखको चेक हस्तान्तरण गरे।
च्याम्प अप च्याम्पियन्सको आयोजक मध्ये एक 'म्याक्स बक्सिङ प्रोमोसन'का सिइओ म्याक्स बस्नेतले प्रतियोगिताको सफलतापूर्वक आयोजना गर्न सफल भएकोमा आफू एकदमै खुशी भएको बताए।
यस्तै विजेता मनिषले फाइनल नखेली बेल्ट जित्दा केही खल्लो लागेको प्रतिक्रिया दिए। 'त्यत्तिकै जित्नुभन्दा गेम खेलेर जित्न पाएको भए अझै रमाइलो हुन्थ्यो,' मनिषले भने। मनिसले आयोजक लगायत आफ्ना गुरु, स्पोन्सर सबैको साथले गर्दा यो उपलब्धी हासिल गरेको भन्दै सबैलाई धन्यावाद दिए।
अब मनिषले बेल्जियममा हुने बक्सिङ फाइट र प्रशिक्षणमा सहभागिता जनाउन पाउनेछन्। आयोजकले सुरुमै यसबारे जानकारी गराएको थियो।
म्याक्स बस्नेतले त्यसका लागि भिसा प्रक्रिया चलिरहेको र चाँडै नै निर्णय हुने जानकारी दिए।
यस्तै अब कुनै संघसंस्थाले च्याम्प अफ च्याम्पियन्स गराउन चाहेमा नेपाल प्रोफेसनल बक्सिङ कमिसनबाट स्वीकृति लिनुपर्ने र उक्त बेल्ट म्याचको विजेतालाई एक लाख रुपैयाँ प्रदान गर्नुपर्ने म्याक्सले बताए।
म्याक्सका अनुसार प्रो बक्सिङ लाइसेन्स भएका र च्याम्प अफ च्याम्पियन्स खेलेका बक्सररुहले मात्र उक्त बेल्ट म्याच खेल्न पाउनेछन्।