PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रशारण लाइन बनाउँदा सांसदकै अवरोध



अमर बडुवाल

प्रशारण लाइन बनाउँदा सांसदकै अवरोध

नुवाकोट : प्रतिनिधिसभामा निर्वाचित नेताकै असहयोगले त्रिशुली काठमाडौं प्रशारण लाइन निर्माणमा समस्या आएको छ। नुवाकोटबाट निर्वाचित एमाले सांसद नारायण खतिवडाले नुवाकोटको शान्तिबजारमा स्थानीयको जग्गा सबै जाने भएकाले पाँचवटा टावर अन्तैबाट लैजान माग गरेका छन्।

उर्जामन्त्री वर्षमान पुन, उर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित अनुगमनमा गएको टोलीसँगको छलफलमा खतिवडाले पाँचवटा टावर सारेर अन्तैबाट लैजान चर्काचर्की गरेका थिए।

"बाटो विस्तार गर्दा आधा जग्गा गइसक्यो, प्रशारण लाइन राख्दा आधा जग्गा जान्छ," खतिवडाले भने, "यो क्षेत्रमा बस्न योग्य ठाउँ नै नभएको अवस्थामा शान्तिबजार बस्ने ठाउँ हो। यो बस्ती नै उठ्नेगरी प्रशारण लाइन लिन पाइँदैन। टावर सार्नै पर्छ।"

२०७० सालमा निर्धारण भएको मुआब्जा अहिलेसम्म नबुझेपछि प्रशारण लाइन निर्माणमा समस्या आएको त्रिशुली ३ ए आयोजनाका प्रमुख फणिन्द्र जोशीले बताए।

आयोजनाको १४२ वटा टावरमध्ये ११० वटा टावरको काम सम्पन्न भएको छ। १० वटा टावरमा निर्माणको काम सुरु भएको छ। बाँकी रहेका २२ वटा टावरकालागि काम सुरु गर्नुपर्ने भए पनि पाँच वटा टावर पर्ने जग्गाको मुआब्जा ५ वर्षदेखि नबुझेकाले काम सुरु गर्न नसकिएको जोशीले बताए।

उर्जामन्त्री पुनले कसैको सबै जग्गा गएर सुकुम्बासी नै हुने अवस्था आउने भए मन्त्रिपरिषदबाट निर्णय गराएर भए पनि विशेष व्यवस्था गर्ने बताए।

"ऐनमा भएको व्यवस्था भन्दा बाहिर गएर थप मुआब्जा दिन सकिँदैन। वास्तवमै समस्यामा पर्ने परिवारलाई मन्त्रिपरिषदबाट निर्णय गराएर भए पनि थप क्षतिपूर्ति वा पूनर्स्थापनाको व्यवस्था गर्न सकिन्छ,” उनले भने- ‘आयोजनाको काम रोकिनु भएन।’

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँचवटा टावर सार्नका लागि आयोजनालाई एक वर्ष पछाडि धकेल्न नसकिने बताए।

"पाँच वटा टावरका लागि बनिसकेका १२० वटा टावर भत्काएर अर्को डिजाइन बनाउन सम्भव छैन," घिसिङले भने,"८/९ महिनाभित्र प्रशारण लाइन तयार नभए देशले ठूलो मूल्य चुकाउनुपर्ने भएकाले, स्थानीय जनप्रतिनिधि, प्रशासन, प्रभावित सबैले समयमै निर्णय लिनु जरुरी छ।"

मन्त्री पुनले जलविद्युत आयोजनामा स्थानीयलाई अपनत्व दिँदा निर्माणमा सहयोग गरेको भन्दै प्रशारण लाइन निर्माणमा पनि स्थानीयलाई अपनत्व दिने योजना ल्याउने बताए।
 

समाधान नुवाकोटबासीको हातमा

त्रिशुली काठमाडौं २२० केभी प्रशारण लाइन निर्माणको काम अन्तिम चरणका पुगेको छ। तर, नुवाकोटवासीले पाँचवटा टावरको काम गर्न नदिँदा प्रशारण लाइनको काम नै प्रभावित भएको छ।

खिम्ती ढल्केबर २२० केभी प्रशारण लाइनको काम पनि सबै सकिएको थियो। तर, सिन्धुली सदरमुकाममा पर्ने १० वटा टावरको काम गर्न नदिएपछि आयोजना झन्डै ८ वर्षसम्म अलपत्र परेको थियो।

प्राधिकरणमा कुलमान घिसिङ आइसकेपछि सबैसँग सहकार्यको अपील गर्दै विवाद समाधान गरी एक वर्षअघिमात्रै आयोजनाको काम सम्पन्न भएको थियो।

प्राधिकरण, आयोजना, स्थानीय नेता, प्रशासन र प्रभावितहरु बसेर आयोजना अगाडि बढाउन छलफल गरेपछि खिम्ती ढल्केवर प्रशारण लाइनले पूर्णता पाएको उदाहरणबाट सिक्दै, नुवाकोटमा पनि यसैगरी समस्या समाधान गर्नुपर्ने देखिन्छ। त्यसो गर्दा कसैले अनुचित लाभ लिन नसकोस् भन्नेतर्फ भने सबैले चनाखो हुनुपर्ने देखिन्छ।

चुनाव जित्नका लागि नहुने काम पनि हुन्छ भन्ने नेताहरुको चुनावी भाषणका कारण स्थानीय व्यवसायीको मनोबल झनै बढेको छ। त्रिशुली काठमाडौं २२० केभी प्रशारण लाइनको काम पनि खिम्ती ढल्केवर प्रशारण लाइनको अवस्थामा पुग्यो भने, नेपाललै धेरै ठूलो मूल्य चुकाउनुपर्ने भएकाले देशको बृहत्तर फाइदाका लागि एउटा व्यक्तिले समस्या मात्रै तेर्स्याउन नहुने मन्त्री पुनले बताए।

नुवाकोटमा निर्माणाधीन त्रिशुली ३ बी जलविद्युत आयोजनाबाट काठमाडौं मातातीर्थ सम्म २२० केभी प्रशारण लाइन निर्माणका लागि २०७० सालमै जिल्ला प्रशासन कार्यालय नुवाकोट र मुआब्जा निर्धारण गर्न बनेको समितिले मुआब्जा निर्धारण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell