PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अरनिको यातायात फुट्यो, एउटा समूह पुग्यो कम्पनी दर्ता गर्न



दिनेश खड्का

अरनिको यातायात फुट्यो, एउटा समूह पुग्यो कम्पनी दर्ता गर्न

काठमाडौं : सरकारले आगामी असार मसान्तपछि यातायात समिति दर्ता र नवीकरण नगर्ने निर्णय गरेसँगै अरनिको यातायातकै एक समूहले अरनिको नामकै नयाँ कम्पनी दर्ता गरेका छन्।

देशकै शक्तिशाली यातायात समिति मानिएको अरनिको यातायातको नामबाट कम्पनी दर्ता भएको रजिष्टार कार्यालयले जनाएको छ। कम्पनी रजिष्टारको कार्यालयमा दर्ता न १८८३१३ मा वैशाख १३ गते अरनिको यातायात दर्ता भएको देखिन्छ।

अरनिको यातायात सेवा समितिका अध्यक्ष श्यामबहादुर लामाले भने विरामी भएर घरमै आराम गरिरहेको जानकारी दिँदै यसबारे केही थाहा नभएको बताए। ‘केही दिनदेखि विरामी भएर सुतिरहेको छु, मलार्इ यसबारे केही थाहा छैन। साथीहरु कोही गएर दर्ता गरेका हुन सक्छन्,’ उनले भने।

तर अरनिको यातायात सेवा समितिकै तर्फबाट नयाँ कम्पनी दर्ता गरेको भने अध्यक्ष लामाले अस्वीकार गरे। महासंघलार्इ हड्तालका कार्यक्रममा पूर्ण रुपमा साथ दिने उनको भनाइ छ। ‘महासंघले कम्पनीमा जाने निर्णय गर्यो भने मात्रै हामी जान्छौ,’ उनले भने।

कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार राजेन्द्र थापाले अरनिको नामबाट कम्पनी  दर्ता भएको पुष्टी गरे। तर, उनले कम्पनी कसको हो भन्ने चाहि नखुलेको बताए। अरनिको पुरानै समितिको हो भन्ने एकिन गर्न स्पष्ट आधार नभएको उनको भनाइ छ। उनले पछिल्लो समय यातायात व्यवसायीहरु कम्पनी दर्ता गर्न आउने क्रम बढेको जानकारी दिए।

अरनिको यातायात देशकै ठूलो यातायात समितिमध्ये एक हो। समिति मातहतमा माइक्रो, मिनिवस र ठूला बस गरी साढे छ सय गाडीहरु सञ्चालनमा छन्। जसको सिन्डिकेट कायम राख्न र कार्टेलिङ मा ठूलो हात छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलार्इ यस अघिका सरकारले सिन्डिकेट खारेज गर्न प्रयास गर्दा मोटो रकमको सहयोग गरी आन्दोलन गरेर घुडा टेकाउन सफल भएको समितिमध्ये एक हो अरनिको। महासंघलार्इ सिन्डिकेट माग गर्दै पश्चिम नेपाल बस व्यवसायी संघ, पृथ्वी राजमार्ग बस सेवा समिति, नारायणी यातयात व्यवसायी समिति र अरनिको यातायात सेवा समितिले  सहयोग गर्ने गरेका थिए। यी समितिहरुले साथ नदिए महासंघको हड्ताल समेत रोकिन्छ।

अरनिको यातायातले विभिन्न नाम दिएर बसहरु सञ्चालन गर्दै सिन्डिकेट कायम राख्दै आएको छ। ठाउँ अनुसार बसको विभिन्न नाम दिएर सञ्चालन गर्ने तर ती सबै अरनिको यातायात समिति मातहतकै रहेका छन्।

अरनिको यातायात सेवा समितिले काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङगा र सोलुखुम्वु जिल्लामा यातायात सञ्चाचलनमा रहेको छ। साथै मन्थलीबाटबाट नरायणगढ, काकडभिट्टा र चरिकोटबाट बर्दिवास बस चलाउँदै आएको छ। संस्थाको काठमाडौमा र बनेपामा आफ्नै भवन तथा सिन्धुपाल्चोकको चौतरामा आफ्नै बसपार्क छ।

केही समयअघिमात्र यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै  कम्पनी दर्ता गरेर यातायात व्यवस्था विभागबाट सेवा पञ्जीकृत गराए मात्र रुट इजाजत दिने निर्णय गरेको थियो।

यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकाको खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने हड्ताल गर्ने निर्णय गरेको थियो। तर, महासंघको हड्तालको कार्यक्रमको वेवास्ता गर्दै यातायात व्यवसायीहरु कम्पनी रजिष्टारको कार्यालयमा जान थालेका छन्।

कम्पनी रजिष्टार कार्यालयका अनुसार चैत १८ गते पछि २२ वटा यातायात कम्पनी दर्ता भएका छन्। २५ भन्दा बढी दर्ताको प्रक्रियामा रहेको र ६० भन्दा बढीको नाम स्वीकृत भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell