PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पटनाबाट मोदीको जनकपुर इन्ट्री : के भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनमा हुनेछन् ओली?



विधुर ढकाल

पटनाबाट मोदीको जनकपुर इन्ट्री : के भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनमा हुनेछन् ओली?
File Photo

काठमाडौं : वैशाख २८ गते नेपाल आउँदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दनका लागि तयारी तीब्र पारिरहँदा धेरैको प्रश्न छ – के मोदीको अभिनन्दनमा सहभागी हुनेछन् प्रधानमन्त्री केपी शर्मा ओली?

प्रधानमन्त्री भएयता नेपालमा तेस्रो पटक मोदी नेपाल आउँदैछन्। यसअघि दुईपटक नेपाल भ्रमणमा आउँदाभन्दा अहिलेको परिस्थिति फरक छ। मोदीको नेपाल भ्रमण तय भएसँगै सामाजिक सञ्जालमा भारतीय नाकाबन्दीसँग जोडिएका प्रसंगहरु उठ्न थालेको छ। भारतीय नाकाबन्दीको कडा आलोचना गरेर बलियो जनमत बनाएका ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्ने तयारी भइरहँदा सामाजिक सञ्जालमा फरक-फरक अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन्।  

पटनाबाट मोदीको जनकपुर इन्ट्री 

भारतीय प्रधानमन्त्री बिहान ९ बजे नै प्रदेश २ को अस्थायी मुकाम जनकपुर पुग्ने कार्यक्रम रहेको छ। उनले जनकपुरमा ९ देखि ११ बजेसम्म बिताउने कार्यक्रम तय भएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए। 

भारतको विहार राज्यको राजधानी पटनाबाट उनी भारतीय सेनाको विशेष हेलिकोप्टरबाट जनकपुर आउने छन्। उनी सवार विशेष हेलिकोप्टर बाह्रविघामा अवतरण गर्ने छ। 

त्यहाँ सबैभन्दा पहिले जानकी मन्दिरमा पूजापाठ गर्नेछन्। त्यसपछि बाह्र बिघामा आयोजना हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन्। 

अभिनन्दन कार्यक्रममा उनले छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी बिहान ११ बजे पछि काठमाडौं तर्फ उड्ने छन्।

राजधानीमा उनले राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। राजधानीमा राजनीतिक भेटघाट सकेर उनी मुक्तिनाथ यात्रामा निस्किने छन्। उनको मुक्तिनाथ यात्रा तय भए पनि विस्तृत कार्यक्रम भने तय भइसकेको छैन। 

स्वागतमा हुनेछन् मन्त्री 

भारतीय प्रधानमन्त्री मोदी नेपालसँग जोडिएको भारतीय राज्य बिहारको राजधानी पटनाबाट हेलिकप्टरमार्फत् जनकपुर ओर्लिने उनलाई नेपालका वरिष्ठ मन्त्रीले स्वागत गर्नेछन्। ‘एकजना वरिष्ठ मन्त्रीले उहाँलाई वाह्रविघामा स्वागत गर्नुहुने कार्यक्रम छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘उहाँकै अगुवाईमा मोदीलाई जानकी मन्दिर लगिनेछ।’

यसअघि मोदीको जनकपुर यात्रा विथोलिएको थियो। उनको नागरिक अभिनन्दन तथा साइकल वितरण कार्यक्रम रोकिएको थियो। मोदी पटना हुँदै नेपाल छिर्नेछन्। जनकपुरको उनको हेलिकप्टर ल्यान्ड हुनेछ।

ओली र मोदीबीच जानकी मन्दिरमा नै भेट हुनेछ। प्रधानमन्त्री ओलीले मोदीलाई त्यही स्वागत गर्नेछन्।

दुई प्रधानमन्त्रीद्वारा रामायण सर्किट उद्घाटन

मोदी र ओलीले त्यसै दिन रामायण सर्किटको संयुक्त रुपमा उद्घाीटन गर्नेछन्। जनकपुरका राजा जनकले सीतालाई खेत जोत्दा भेटेको ठाउँ भने भारतको सीतामणिमा पर्छ। 

दुई देशबीचको सांस्कृति सम्बन्ध जोड्ने सेतुका रुपमा हिन्दु ग्रन्ध रामायण रहँदै आएको छ। रामायणका अधिकांश हिस्सा भारत र नेपालसँग जोडिएका छन्। त्यसैले धार्मिक पर्यटनका उद्देश्यले पनि यो सर्किटलाई महत्वका साथ हेरिएको छ। नेपाल र भारतका धार्मिक क्षेत्रलाई जोड्नेगरी पर्यटन प्रवर्द्धनका विषयमा पहिलेदेखि नै छलफल भइरहेको भए पनि औपचारिक रुपमा दुई प्रधानमन्त्रीले यसको उद्घाटन गरेर सुरुवात गर्नेछन्।

मोदी अभिनन्दनतिर लाग्दा ओली काठमाडौंतिर

जनकपुरधाममा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किनेछन्। भारतीय प्रधानमन्त्री मोदी भने जानकी मन्दिरको कार्यक्रमपछि फेरि हेलिप्टर ल्यान्ड भएकै ठाउँ बाह्रविघा पुग्नेछन्। ‘प्रधानमन्त्रीज्यू रामायण सर्किटको उद्घाटनका लागि जनकपुर जाने हो। त्यसपछि उहाँ काठमाडौं फर्किनुहुन्छ भने,’ सल्लाहकार अर्यालले भने, ‘मोदीजी भने नागरिक अभिनन्दनपछि मात्रै काठमाडौं आउनुहुनेछ।’

बाह्रविघामा मोदीको नागरिक अभिनन्दनको कार्यक्रम छ। करिब २ घन्टा लामो समारोह हुने अपेक्षा गरिएको छ। अभिनन्दनका लागि अहिलेदेखि नै प्रदेश नम्बर २ को सरकारले जोडतोडका साथ तयारी थालिसकेको छ। 

अभिनन्दन सकेपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आउनेछन्। पटनाबाट जुन हेलिकप्टरमा ओली जनकपुर आउँछन् त्यसैबाट काठमाडौंको यात्रा तय हुनेछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि भारतीय प्रधानमन्त्री मोदीको निम्ता स्वीकार्दै भारत भ्रमण गरिसकेका छन्।
 

सुरक्षा अवस्था बुझ्न गृहमन्त्री थापा सुटुक्क जनकपुरमा

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउँदै छन्। उनको नेपाल भ्रमणको तयारीमा जनकपुर जुटेको छ। 

मोदीको भ्रमणको तयारी र सुरक्षा अवस्थाको जानकारी लिन गृहमन्त्री रामबहादुर थापा बादल आज बिहान ८ बजै जनकपुर पुगेका छन्। गृहमन्त्री थापा नेपाली सेनाको हेलिकोप्टर लिएर जनकपुर पुगेका थिए। 

प्रदेश सरकारलाई जानकारी नै नदिइ जनकपुर पुगेका केन्द्रीय गृहमन्त्री बादल मोदीको अभिनन्दन गरिने स्थल बाह्र बिघाको अवलोकन तथा निरीक्षण गरे। त्यसपछि उनी जनकी मन्दिरमा गएर पूजापाठ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्न निर्देशन दिए। 

जिल्लास्थित सुरक्षा निकाय तथा केन्द्रीय निकायसँग उचित सहकार्य गरी भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल बनाउन सबैमा निर्दैशन दिए। 

यसैवीच, आजको गृहमन्त्रीको जनकपुर भ्रमणको बारेमा प्रदेश सरकारलाई जानकारी नदिएको भन्दै मुख्यमन्त्री राउतले असन्तुष्टी व्यक्त गरेका छन्। 

गृहमन्त्रीको भ्रमणको बारेमा मुख्यमन्त्रीलाई आधिकारिक जानकारी नरहेको उनका मुख्य सचिव दिपक यादवले पहिलोपोस्टलाई जानकारी दिए। 

‘अचानक हेलिकप्टर जनकपुर ल्यान्ड गरेपछि गृहमन्त्री आएका हुन् भन्ने मुख्यमन्त्रीज्यूले थाहा पाउनुभयो,' उनले भने। 

भारतीय सुरक्षा टोलीले बनायो मोदीको सुरक्षाको ५ घेरा

यता जनकपुर भ्रमणमा रहने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ५ घेराको सुरक्षा प्रबन्ध मिलाइएको छ। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार नेपालको गृह मन्त्रालयको परामर्शमा भारतीय सुरक्षा टोलीले ५ घेराको स्केच तयार पारेको हो।

मोदी नजिक पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहनेछन्। त्यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रोमा नेपाल प्रहरी, चौँथो घेरामा नेपाली सेना तथा पाँचौँ घेरामा सादा पोसाकमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरू खटिने छन्। 

मोदी जनकपुर पुग्ने दिन वैशाख २८ भन्दा दुई-तीन पहिले देखि नै जनकपुर आसापासको सबै गतिविधि तथा सुरक्षा व्यवस्थामा थप कडाई पारिने छ।

मोदी फर्किएपछि प्रधानमन्त्री ओली चीन जाने

यसैबीच भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गरेको केही सातामै प्रधानमन्त्री उत्तरी छिमेकी चीनको भ्रमणमा निस्किने छन्। 

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीलाई समेत गति दिएको छ। परराष्ट्र मन्त्रालय उत्तर हेर्ने महाशाखाका एक अधिकारीका अनुसार भ्रमणको तयारी भइरहेको छ। 

दुवै देशका अधिकारीहरू भ्रमणको मिति मिलाउन लागि परेको ती अधिकारीले जानकारी दिए। 

यता आज हेटौँडा पुगेका गृहमन्त्री थापाले समेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमण लगत्तै प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीन जाने बताएका थिए।  
  • (वीरग‌ंजबाट राधेश्याम पटेलको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell