काठमाडौं : सुमन भोम्जन मेमोरियल स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगितामा कूल ६० खेलाडीले सहभागिता जनाउने भएका छन्। बुधवार हुने एक दिने प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोप क्लाइम्बिङ गरी दुई विधामा ६० खेलाडी सहभागी हुने आयोजक नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनमा महासचिव मेघराज पौडेलले जानकारी दिए।
पौडेलका अनुसार लिड क्लाइम्बिङमा महिला र पुरुष गरी २५ तथा टप रोपतर्फ ३५ खेलाडीले क्लाम्ब गर्नेछन्।
लिड क्लाइम्बिङमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: १५ हजार, १० हजार र ५ हजार हात पार्नेछन्। टस रोपका विजेता खेलाडीले मेडल र प्रमाणपत्र पाउनेछन्।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले सहयोग गरेको छ भने पर्वतीय खेलकुद महासंघले समन्वय गरेको छ।