
कपिलबस्तु : प्रथम कपिलबस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रदेश ४ ले जितेको छ। आइतवार कृतिम प्रकाशको सहयोगमा मध्य रातमा भएको फाइनल खेलमा प्रदेश ४ ले प्रदेश ७ लाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो।
घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेटमा ९ अंक जोडे पछि प्रदेश ४ ले प्रदेश ७ लाई २५–१६ ले पछि पारेको थियो। दोस्रो सेट प्रदेश ७ ले २६–२४ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गरेको थियो। तर प्रदेश ४ ले त्यसपछि लगतार दुई सेट २५–२३, २५–२१ ले आफ्नो पक्षमा पादै उपाधि जितेको थियो।
प्रदेश ४ का लागि घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गदै समग्रमा २९ अंक जोडेका थिए। प्रदेश ७ का टेकराज अवस्थीले पनि उत्कृष्ट प्रदर्शन गदै २३ अंकको योगदान दिए पनि टिमलाई पराजयबाट बचाउन सकेनन्।
तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई ३–१ को सेटमा हरायो।
घनश्याम चौधरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिए। यस्तै प्रदेश ७ का टेकराज प्रतियोगिताको बेष्ट स्पाइकर घोषित भए। त्यस्तै प्रदेश ४ का राजन दर्लामीले उत्कृष्ट डिफेन्स, पर्बत मगरले उत्कृष्ट ब्लकरको अवार्ड पाए। बेष्ट सेटरको उपाधि प्रदेश ७ का लोकेन्द्र गिरीले जित्दा बेष्ट सर्भरको उपाधि प्रदेश ५ का प्रताप खवासले हात पारे।
कपिलबस्तु जिल्ला खेलकुद विकास समितिको आयोजनामा वैशाख १४ देखि संचालन भएको प्रतियोगिताको विजेता प्रदेश ४ ले नगद १ लाख ११ हजार १११ तथा उपविजेता प्रदेश ७ ले ५५ हजार ५ सय ५५ नगद हात पार्यो।
तेस्रो भएको प्रदेश ५ ले ३३ हजार ३ सय ३३ नगद प्राप्त गर्यो।