PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

सुन तस्करी : मात्रा एकै घटना फरक, आखिर किन ३३ किलो नै?



सविन ढकाल

सुन तस्करी : मात्रा एकै घटना फरक, आखिर किन ३३ किलो नै?

काठमाडौः ३३ केजी सुन प्रकरणले धेरैलाई अल्मलाएको छ। यतिबेला चर्चमा रहेको सुन काण्ड र पोहोर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बरामद गरेको अवैध सुनको मात्रा एउटै भएकोले अन्यौल बढेको हो। मात्रा एकै भए पनि घटना फरक हुन्।

***
२०७३ पुस २१ गते। प्रहरीले गोल्डेन गेट कलेज नजिकै गोपालबहादुर शाहीलाई पक्राउ गर्‍यो। ट्याक्सीमा दुई लगेज थिए। लगेज खोलेर हेर्दा कालो टेपले बेरिएको अवस्थामा ३३ केजी अवैध सुन फेला पर्योा। २४४ वटा दश तोलाको बिस्कुट, १८ वटा सिक्री र ११ वटा औंठी। लगेजमा फल्स बटम बनाएर सुन ल्याइएको थियो। 

दुबईबाट आएको एयर अरबिया विमानबाट सुन विमानस्थल हुँदै बाहिरिएको थियो। नवराज सिलवाल सिआइबी प्रमुख हुँदाको यो कान्डमा ठूला माछा पर्ने निकै हौवा चले पनि अन्त्यमा 'भरिया'लाई दोषी ठहर गरेर यसको पटाक्षेप भइसकेको छ। 

***
गत माघ ९ गते विमानस्थलबाट बाहिरिएको सुन एकाएक राजधानीबाट नै हरायो। यसरी हराएको सुनको मात्रा पनि ३३ केजी नै थियो। थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनले विमानस्थलबाट स्कूटरमा सुन राखेर बाहिर लगेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको दावी छ।  उनका अनुसार सुन तस्करीको लागि नै बनले स्कुटरमा ३३ केजी सुन अटाउने फल्स बटम बनाएका थिए।

आखिर तस्करहरुले उही परिमाणमा नै विमानस्थलबाट किन भित्र्याउँछन् सुन? 

लगेजमा सजिलै अटाउने र तौलको हिसाबमा पनि सजिलो हुने भएकोले तस्करले ३० देखि ३५ केजीको बीचमा तस्करीको सुन ल्याउने गरेको अनुसन्धानको नेतृत्व गरेकी एसपी मीरा चौधरी बताउँछिन्। 

एसपी चौधरी भन्छिन्, ’हामीले अनुसन्धान गर्दा लगेजमा विमानले दिने परिमाणभन्दा बढी ल्याए शंका हुन्छ। त्यसैले पनि उनीहरुको छनौट पहिलो पटकमा ३० देखि ३५ केजी हुने गरेको हो।‘ 

विमान अनुसार २० देखि ४० केजी लगेज ल्याउँदा कुनै शुल्क लाग्दैन। 

सुन तस्करहरुको लागि ३३ केजी ‘लक्की’ भएकाले पनि यही परिमाण रोजाइमा रहेको अनुमान गर्न सकिने पूर्वडिआइजी नवराज ढकाल बताउँछन। 

पूर्वडिआइजी ढकाल भन्छन्, ‘तस्करहरुले पहिलो पटक सुन अवैध रुपमा भित्र्याउँदा उनीहरु सफल भए। शायद् त्यसलाई नै लक्की मान्न थाले। एक पटक सक्सेस भएपछि क्रिमिनलहरुले त्यति नै मात्रामा ल्याउने गरेको अघिल्ला अनुसन्धानमा देखिएको हो।‘ 

गृहमन्त्री रामबहादुर थापाले एक सार्वजनिक कार्यक्रममा  विमानस्थलबाट टनका टन सुन तस्करी हुने गरेको बताएका थिए। गृहमन्त्रीले यसो भने पनि प्रहरीले विमानस्थलबाट ठूलो परिमाणमा सुन ‍औँलामा गन्न सकिने पटकमात्र बरामद गरेको छ।‘ 

गृहमन्त्रीको भनाईमा विश्वास गर्ने हो भने धेरै पटक ३३ केजी परिमाणका सुन तस्करले विमानस्थलबाट कटाएका छन्।

५० ग्राम : धेरै तस्करी हुने अर्को परिमाण 

विमानस्थलबाट सुन तस्करी हुने अर्को परिमाण हो ५० ग्राम। वैदेशिक रोजगारीमा गएका युवालाई ‘मोहरा’ बनाई तस्करले यसरी विमानस्थलबाट सुन तस्करी गरिरहेका छन्। 

काँचो सुनलाई मोडेर बाला बनाएर वैदेशिक रोजगारीबाट फर्किएका युवाको हातमा लगाउन दिएर तस्करले सुन नेपाल भित्र्याउँछन्। यसरी विदेशबाट ल्याएको ५० ग्राम सुनमा तस्करले २० देखि २५ हजार रुपैयाँसम्म फाइदा लिने गरेका छन्। 

सरकारले २०७३ साल साउन १ गतेदेखि विदेशबाट काँचो सुन ल्याउन रोक लगाएको छ। ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका उपसचिव ध्रुव विकका अनुसार दैनिक ३ देखि ४ जनासम्म ५० ग्राम सुनसहित पक्राउ पर्ने गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell