काठमाडौँ : केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुँदैछ।
सरकारले गठन गरेको उच्चस्तरिय छानबिन समितिले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको थियो। नियन्त्रणामा लिएका र फरार रहेका व्यक्तिहरुलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान मिसिल बुझाई सकेको छ। संगठित अपराधमा प्रहरीले अनुसन्धानका लागि पाउने ६० दिनको म्याद बुधवारबाट सकिँदै छ। अनुसन्धानमा ३३ केजी सुन सानु बम र सनम शाक्यबाट नै हराएको देखिएको छ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का सहित २८ जनलाई पक्राउ गरी कारबाही अगाडि बढाएको थियो। घटना संलग्नता देखिएका एसएसपी श्याम खत्री भने फरार रहेका छन्।
पक्राउ गरी विशेष अनुसन्धान टोलीले बयान लिएका सबैले सुन तस्करका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’लाई चिनेको बताएका छन्।
फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन तस्करीको घटना बाहिरिएको थियो।