
काठमाडौंः पार्टी एकता लगायतका विषयमा छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा एमालेसँग पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ।
माओवादी नेता देवेन्द्र पौडेलका अनुसार पार्टी एकताको विषयमा भएका प्रगतिको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सचिवालयलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ। प्रचण्डले यसअघि पार्टी एकताका विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वान अन वान वार्तामा भएको छलफलका विषयमा पार्टीको सचिवालयलाई जानकारी दिने छन्।
गत वैशाख ४ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका लागि विवादित विषयलाई टुंगो लगाउन दुई पार्टीका अध्यक्षलाई जिम्मा दिएको थियो। त्यसपछि लगातार तीन दिन लगातार दुई अध्यक्ष वान अन वान वार्तामा बसेका थिए।
त्यसयता भने दुवै अध्यक्षबीच पार्टी एकताका विषयमा औपचारिक छलफल हुन सकेको छैन। आजको बैठकले पार्टी एकताका विषयमा आफ्नो पार्टीका तर्फबाट ठोस निर्णय गर्ने पार्टी सचिवालयले जनाएको छ।