
सोलः दक्षिण कोरियाका ७८ प्रतिशत जनताले उत्तर कोरियाली नेता किम जोङ उनप्रति विश्वास भएको बताएका छन्। कोरियन रिसर्च सेन्टरले गरेको अनुसन्धानमा ७८ प्रतिशत दक्षिण कोरियाली जनताले उनप्रति विश्वास रहेको बताएका हुन्।
शुक्रवार सम्पन्न अन्तरकोरियाली शिखर सम्मेलन पछि सेन्टरले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा अनुसन्धानमा सहभागी दक्षिण कोरियाली उत्तरदातामध्ये ७८ प्रतिशतले उनप्रति विश्वस्त भएको बताएका हुन्।
त्यस्तै १० प्रतिशत उत्तरदाताहरुले किमलाई अनुमोदन गरेको बताएका छन्।
यसैबीच दक्षिण कोरियाको राष्ट्रिय प्रसारण निकाय एमबीसीका अनुसार सर्वेक्षणमा सहभागी ३० प्रतिशत जनताले कोरियाली प्रायद्वीप आणविक हतियार मुक्त हुने आशा व्यक्त गरेका छन्।
दक्षिण कोरियाली जनताले आफ्ना राष्ट्रपति मुन जाई इनलाई जस्तै विश्वास गरेको सर्वेक्षण देखाएको छ। मुनलाई त्यहाँका ८६ प्रतिशत जनताले विश्वास गरेका छन्। त्यस्तै उनको पक्षमा ७८ प्रतिशत विश्वास देखिएको हो।
गत शुक्रवार दुई देशबीच सम्पन्न अन्तर कोरियाली शिखर सम्मेलन मार्फत दुबै देश कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि अाणविक निःसशस्त्रिकरणमा सहमति भएको थियो।