
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता समान हैसियतमा हुने बताएका छन्। बुधवार पार्टी केन्द्रीय सचिवालय बैठकलाई ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्।
पार्टी एकतापछि माओवादी नेताहरूको हैसियत के हुने भन्ने प्रश्न उठिरहेका बेला अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा माओवादी नेताहरूको हैसियत सम्मानजनक हुने भन्दै एकता समानताका आधारमा हुने बताएका हुन्।
‘पार्टीको जिम्मेवारीमा रहेका नेताहरूले एकता पछि बन्ने पार्टीमा पनि समान हैसियत र जिम्मेवार पाउने विश्वास अध्यक्षज्यूले दिलाउनुभयो,’ माओवादीका एक नेताले पहिलोपोस्टसँग भने।
वैशाख ४ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका लागि समाधान हुन नसकेका विषयलाई टुंग्याउनका लागि दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो। सोही अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच तीन दिन सम्म गोप्य बैठक भएको थियो।
प्रचण्डले सचिवालय बैठकमा एकता छिट्टै टुंगिने भन्दै दुई अध्यक्षबिचको बैठकमा एकताको मोडालिटी र जनयुद्धको विषयमा समेत सहमति जुटेको बताएको बैठकमा सहभागी एक नेताले बताए।
यसैबिच बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पार्टी एकता हुने बताएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनका अनुसार बिहीबार पुनः दुई अध्यक्षबिच वार्ता हुने र त्यसले सहमति जुट्न नसकेका विषयहरूलाई टुंग्याउने छ।
गत वर्ष असोज १७ गते निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणासहित बाम गठबन्धन निर्माण भएको थियो। तर निर्वाचन सम्पन्न भएको पाँच महिना पुग्दा समेत एकता हुन सकेको छैन।
यता माओवादी अध्यक्ष प्रचण्डले मङ्गलवार एक कार्यक्रममा एकता माक्र्सको द्वीसत्वार्षिकीको अवसरमा वैशाख २२ गते हुन सक्ने बताएका थिए।