PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

यू-१६ क्रिकेट : प्रदेश नम्बर ७ च्याम्पियन

यू-१६ क्रिकेट : प्रदेश नम्बर ७ च्याम्पियन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रदेश नम्बर ७ ले प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा बुधवार भएको फाइनलमा प्रदेश ७ ले प्रदेश नम्बर २ लाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो।

प्रदेश ७ लाई च्याम्पियन बनाउन मनोज लोथ्यालले ५ विकेट लिए। २०९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो। अमित यादवले ८० रन बनाएपनि प्रदेश २ लाई जितका लागि पर्याप्त भएन।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो। प्रदेश ७ का लागि राहुल भण्डारीले सर्वाधिक ३८ रन बनाए भने हृदय बिथारीले ३३ रन जोडे। रोशन सावदले आक्रमक ब्याटिङ गर्दै नटआउट ३७ रन जोडे। १८ बल खेलेका रोशनले १ चौका र २ छक्का प्रहार गरे। यस्तै नरेन्द्र सावदले ११ बलमा नटआउट २० रन जोडे। यी दुईले आठौँ ओभरका लागि ५४ रनको साझेदारी गरे। बलिङमा प्रदेश २ का विवेक यादवले २ विकेट लिए।

२०९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले राम्रो सुरुवात गरेपनि त्यसलाई कायम राख्न नसक्दा पराजय बेहोर्‍यो। ओपनर अमित यादवले पहिलो विकेटका लागि साहिल पटेलसँग ४१, इमरान शेखसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। तेस्रो विकेटका लागि अमितले तृत राज दाससँग ७३ रनको साझेदारी गर्दै टिमको स्कोर १४९-३ पुर्‍याएका थिए। तर त्यसपछि निरन्तर विकेट गुमाउँदा प्रदेश २ ले लक्ष्य भेट्न सकेन।  ८० रन बनाएका अमित चौथो विकेटका रुपमा आउट भएपछि प्रदेश ७ ले थप ३५ रन जोड्दा बाँकी ६ विकेट गुमायो। तृत राजले २७ तथा साहिल पटेलले २५ रन बनाए। इमरान शेख १२ रन बनाएर आउट भए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा प्रदेश ७ का मनोजले ५ तथा नरेन्द्र साउदले ३ विकेट लिए। मनोज फाइनल खेलका म्यान अफ दि म्याच घोषित भए।

च्याम्पियन प्रदेश ७ ले क्रिकेट किट्ससहित ५ लाख बराबरको पुरस्कार हात पार्‍यो।  उपविजेता प्रदेश २ ले क्रिकेट किट्सहसित नगद २ लाख ५० हजार बराबरको पुरस्कार प्राप्त गर्‍यो।

पहिलो संस्करणको उपाधि जितेपछि प्रदेश ७ का कप्तान नारायण जोशीले सबैले राम्रो प्रदेशन गरेको खेल जितेको बताए। उनले टीयू को कडा विकेटमा खेल्न पाउनु युवा खेलाडीको लागि राम्रो भएको र यस्तो प्रतियोगिताबाट नयाँ खेलाडी आउने प्रतिक्रिया दिए। 'यस खालको प्रतियोगिताबाट नयाँ प्रतिभाहरु आउँछन्। यही प्रतियोगिताबाट पनि केही खेलाडी आएका छन्। उमेरर समूहमा यस्तो प्रतियोगिता नभइरहेको अवस्थामा आयोजकले यो प्रतियोगिता गरेर राम्रो गरेको छ। यसले सिनियर टिमसम्म पुग्नको लागि युवा खेलाडीलाई सहयोग पुग्नेछ।'

यस्तै यस प्रतियोगितालाई नजिकबाट निहालेका राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले यो प्रतियोगिता जुनियर खेलाडीहरुको लागि प्ल्याटफर्म भएको बताए। 'जुनियर खेलाडीहरुले आफ्नो प्रदर्शन देखाउने मौका पाए। सबैले राम्रो प्रदर्शन गरे। यो टुर्नामेन्टबाट धेरै राम्रो प्रतिभाहरु देखिएको छ।' टमाटाले भने, 'अब यसलाई निरन्तरता दिनु सबैभन्दा महत्वपूर्ण छ। यू-१६ सँगै यू-१९ लेभलका प्रतियोगिताहरु हुनुपर्छ। अनी त्यसबाट राष्ट्रिय टिमसँग पुग्न सहज हुन्छ।'

 

विवेक यादव उत्कृष्ट

फाइनलमा पराजित भएपनि प्रदेश २ का विवेक यादव म्यान अफ दि सिरिज घोषित भए। प्रदेश २ लाई फाइनलसम्म पुर्‍याउन अलराउण्ड प्रदर्शन गरेका विवेकले १४५ रन बनाउनुका साथै ७ विकेट समेत लिएका थिए। उनले फाइनलमा २ विकेट लिए। विवेकले नगद १० हजार र ट्रफी पाए।

यस्तै प्रदेश २ कै अमित यादव उत्कृष्ट ब्याट्सम्यान घोषित भए। प्रदेश ७ का नरेन्द्र साउद उत्कृष्ट बलर चुनिए। दुवैले समान ५ हजार ट्रफी पाए। यसैगरी प्रदेश ७ का राजन सिंह उत्कृष्ट विकेटकिपर र हृदय बिथारी उत्कृष्ट फिल्डर घोषित भए।



ट्रेन्डिङ पोस्ट

Ncell