
काठमाडौं : सुमन भोम्जन मेमोरियल स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको उपाधि विजय सुनार र विमला सुनारले जितेका छन्।
बुधवार पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा भएको एकदिने प्रतियोगिताअन्तर्गत लिड क्लाइम्बिङमा पुरुषतर्फ विजय तथा महिलामा विमला च्याम्पियन बने। यस्तै पुरुषमा भिम तामाङ दोस्रो तथा पेम्बा शेर्पा तेस्रो भए। महिलातर्फ वेनिसा राजवाहक दोस्रो तथा स्वस्तिका चौधरी तेस्रो भए।
महिला र पुरुतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: १५ हजार, १० हजार र ५ हजार हात पारे। लिड क्लाइम्बिङमा महिला र पुरुष गरी २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
यस्तै टप रोपतर्फ पुरुषमा युवराज शाही र महिलामा अनिता खत्री पहिलो भए। यस्तै पुरुषतर्फ अनुप मल्ल दोस्रो तथा सिद्दार्थ केसी तेस्रो भए भने महिलातर्फ जुहि थापा मगर दोस्रो तथा अनिशा जिरेल तेस्रो भए। टप रोपतर्फ ३५ खेलाडी सहभागि थिए।
स्व खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा कूल ६० खेलाडीले भाग लिएका थिए।