PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एकताको तयारीमा रहेको माओवादी केन्द्रकाे संगठनात्मक संरचना पुनर्गठन गर्न सर्कुलर



विधुर ढकाल

एकताको तयारीमा रहेको माओवादी केन्द्रकाे संगठनात्मक संरचना पुनर्गठन गर्न सर्कुलर

काठमाडौंः नेकपा एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा रहेको माओवादी केन्द्रले पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्‍याउनु अगाडि पार्टीको आन्तरिक संगठनलाई पुनःगठन गर्ने भएको छ। 

बुधबार बसेको सचिवालयको बैठकले यस्तो तयारी गरेको छ। हाल माओवादीमा कार्यालय, सचिवालय सहितको संगठनिक फर्मेसन रहेको छ। विभिन्न माओवादी घटकहरुसँगको एकताका पछि महाधिवेशनका लागि महाधिवेशन आयोजक समिति बनाएको माओवादी केन्द्रले एमालेसँग एकता अगाडि पार्टीका कमिटिहरुलाई पुनःगठन गर्ने तयारी थालेको हो। 

‘पार्टी एकता अगाडि भत्काइएका पुराना संगठनात्मक संरचनालाई पुनःगठन गर्न थालिएको हो,’ माओवादी केन्द्रका एक सचिवालय सदस्यले भने, ‘पार्टी एकता अगाडि नै केन्द्रीय समिति, सातै प्रदेश समिति र जिल्ला समितिहरु पुनःगठन हुने छन्।’ 

त्यसका लागि केन्द्रीय कार्यालयले स्थानीय समितिलाई आन्तरिक रुपमा सर्कुलर समेत जारी गरेको छ। बुधबार बसेको माओवादी सचिवालयको बैठकमा प्रचण्डले पार्टीका हरेक तहलाई पुनःगठन गर्न निर्देशन दिएको ती नेताले जानकारी दिए। 

हाल माओवादी केन्द्रका हरेक कमिटिमा पदाधिकारी छैनन्। जिल्लामा जिल्ला संयोजक, प्रदेशमा प्रदेश इन्चार्ज छन् भने केन्द्रमा अध्यक्ष, कार्यालय, र सचिवालय छन्। तर पदाधिकारी छैनन्। 

एकता अगाडि पुरानो संगठनात्म संरचना अनुसार पदाधिकारीको चयन गरिने भएको हो। त्यसका लागि प्रदेश कमिटिलाई सिफारिस गर्न समेत निर्देशन दिइएको छ। यसरी आएका सिफारिसलाई पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई अन्तिम टुंगो लगाउने जिम्मेवारी समेत दिइएको ती सचिवालय सदस्यले जानकारी दिए। 

माओवादी केन्द्रले समानताका आधारमा एकता गर्ने बताउँदै आएको छ। सोही अनुसार एकता गर्नु अगाडि पार्टीका समितिहरुलाई पुनःगठनको तयारी गरेको हो। उसले पार्टी एकताका लागि गठन भएको कार्यदलको सिफारिसका आधारमा संगठनात्मक संरचनामा रहने गरी पार्टी भित्र सिफारिस गर्न समेत निर्देशन दिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell