PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

३३ किलो हैन ३८ सय किलो सुन तस्करीको अभियोगमा मुद्दा दर्ता, १७ अर्ब रुपैयाँ बिगो दावी



अनन्तराज न्यौपाने

३३ किलो हैन ३८ सय किलो सुन तस्करीको अभियोगमा मुद्दा दर्ता, १७ अर्ब रुपैयाँ बिगो दावी

विराटनगर : ३३ केजी सुन प्रकरण भनी केही महिनादेखि चर्चामा रहे पनि सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत मोरङमा दर्ता गरेको अभियोगपत्रमा झण्डै ३८ सय किलो सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको उल्लेख छ। 

मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएको छ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी ३७ लाख ९९ हजार ५५९ ग्राम सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको अदालतका रजिस्ट्रार नवराज दुलालले बताए। 

यो सुन झण्डै ३८ सय किलो हुन आउँछ। गृहमन्त्रीले भन्ने गरेको 'टन' मा नाप्दा यो संख्या ४ टनभन्दा बढी हुन आउँछ।  

सुनको बजार भाउ अनुसार मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो दावी गरिएको छ। 

सरकारी वकिलको कार्यालयले १६३ पेजको अभियोगपत्र बनाएको छ। पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्कासहित सुन व्यापारी, विमान कम्पनीका कर्मचारीलाई  प्रतिवादी बनाइएको छ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २९ जनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। नियन्त्रणमा लिइएका र फरार रहेका व्यक्तिलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा प्रहरीको अनुसन्धान मिसिल बुझाएको थियो।  घटनाका मुख्य अभियुक्त ‘गोरे’, एसएसपी श्याम खत्री लगायत फरार रहेका छन्। 

फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन तस्करीको घटना बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell