
काठमाडौँः आदिवासी जनजाति महासंघका प्रतिनिधिले सार्वजनिक बिदा कटौतीको निर्णय पुनरावलोकनको माग गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा महासंघका प्रतिनिधिले बिदा कटौती गर्ने निर्णय पुनरावलोकन गर्न माग गरेका हुन्।
विभिन्न पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन उनीहरुले माग गरेका हुन्। प्रचण्डको निवास खुमलटारमा बिहीबार बिहान भएको भेटमा सांस्कृतिक पर्वका अवसरमा पाउँदै आएका बिदा कटौटी पुनरावलोकनको माग गरेका हुन्।
अध्यक्ष प्रचण्डले बिदा धेरै भएको भन्ने गुनासोका कारण सरकारले बिदा घटाउने प्रयास गरेको भन्दै सम्बन्धित समुदायसँग छलफल नगर्दा केही समस्या भने आएको बताए।
उनले भने ‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन। बिदाको पक्षमा तपाईँहरुलाई मेरो सहयोग हुन्छ,’ प्रचण्डले भने।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताए।
महासंघका प्रतिनिधिले सल्लाह बिनै पर्व बिदा कटौती भएको भन्दै भेटमा असन्तुष्टि जनाएका थिए। उनीहरुले आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निश्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको, दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका विषयमा प्रचण्डको ध्यानाकर्षण गराएका थिए।