
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको टोलीले आज भेटी सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन्। प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौति भएको भन्दै ज्ञापनपत्र बुझाए।
प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताए। त्यसैपनि धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताए।
'अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन। बिदाको पक्षमा तपाईहरुलाई मेरो सहयोग हुन्छ,' जनजाति टोलीलाई उनले भने। अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताए। प्रचण्डले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिए।
महासंघका अध्यक्ष बरामले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौति गरेको गुनासो गरेका थिए। सरकारले आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निश्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका विषयमा महासंघले प्रचण्डको ध्यानाकर्षण गराएको थियो।