PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुन काण्डका ६ अभियुक्तको बयान सुरु, बयानमा सघाएमा दुई जनालाई ५० प्रतिशत  सजाय छुट



अनन्तराज न्यौपाने

सुन काण्डका ६ अभियुक्तको बयान सुरु, बयानमा सघाएमा दुई जनालाई ५० प्रतिशत  सजाय छुट

विराटनगर : साढे ३३ किलो सुनकाण्डमा म्याद थपिएका २९ मध्ये ६ अभियुक्तलाई मोरङ जिल्ला अदालतमा बयान सुरु गराइएको छ।अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार बिहीवार बिहान ११ बजेदेखि उनीको बयान सुरु भएको हो।

बयान सुरु गराइएका अभियुक्तमा टेकराज मल्ल ठकुरी, मोेहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले र राजनकुमार छन्।

टेकराज मुख्य आरोपी चूडामणि उप्रेती (गोरे)–का ड्राइभर हुन्। उनी गोरेका एक मुख्य विश्वासपात्र पनि हुन्। यातना दिएर मारिएका सनम शाक्यको शव राखिएको स्कोर्पियो गाडी मल्लले नै चलाएका थिए। उनले जङ्गलमा गाडीमा रातभरि शवमात्र राखेर रुँघेको र रात कटाएको बयान दिएका छन्।

त्यस्तै मोहन र कृष्ण भरिया हुन्। कृष्ण विद्यालयमा गोरेका सहपाठीसमेत भएको र उनीहरूको घर एकै ठाउँमा रहेको बताइएको छ।

राजनकुमारलाई सुनको धन्धाका एक प्रमुख लगानीकर्ता मानिएका मोहनकुमार अग्रवालका ड्राइभर भएको र वीरगञ्ज हुँदै अग्रवाललाई भारत टपाउने कार्य गरेको अभियोग लगाइएको छ।

अर्का अभियुक्त लाक्पा पनि ड्राइभर नै भएको प्रहरीले बताएको छ। लाक्पाले नै गोरेलाई जोगबनीसम्म गाडीमा पुर्याएर भारततर्फ भाग्न सहयोग गरेको आरोप छ।

अर्का अभियुक्त माधव भन्ने मदनकुमार पनि भरिया भएको र सनमलाई यातना दिने क्रममा उनी पनि घटनास्थलमा रहेको अभियोग छ।

स्रेस्तेदार दुलालले जिल्ला अदालतका ६ अधिकृतको छुट्टाछुट्टै टोलीले बयान सुरु गरेको र यही वैशाख २४ भित्र बयान सकिसक्ने लक्ष्य राखिएको जानकारी दिए।

अदालतका ६ नम्बर इजलासका न्यायाधीश नारायणप्रसाद शर्मालाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ। अदालतको प्रचलनअनुसार बिहीवार बिहान साढे दश बजे गोला प्रथाबाट न्यायाधीश शर्माको जिम्मामा मुद्दा परेको हो।

अभियुक्तको बयान सकिनेबित्तिकै बहसको क्रम सुरु हुने स्रेस्तेदार दुलालले बताए।

पाँच सरकारी वकिलको समूह

अदालतमा सरकारका तर्फबाट बहस गर्न उच्च अदालत विराटनगरका सह महान्याधिवक्ता चिरञ्जीवी पराजुलीका नेतृत्वमा सरकारी वकिलको ५ सदस्यीय टोली गठन गरिएको छ।

टोलीमा उच्चबाट २ र जिल्लाबाट ३ सरकारी वकिल छन्।

उच्चका सह–महान्याधिवक्ता पराजुली र उपन्यायाधिवक्ता हिमालय त्रिताल तथा जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकसहित सह जिल्ला न्यायाधिवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेल छन्।

जटिल प्रकारका, ठूला र सङ्गठित अपराधका मुद्दामा सरकारी वकिलको समूह नै बनाएर बहस गर्ने परिपाटी रहेको उल्लेख गर्दै जिल्ला न्यायाधिवक्ता पाठकले यसअघि आफू एक जटिल प्रकृतिको मुद्दामा बहस गर्न मोरङबाट सिराहा गएको स्मरण गरे।

पाँचै सरकारी वकिलले मिसिलको अध्ययन गरेर भोलि शुक्रबारदेखि बहसको डिजाइन गर्ने उनले जानकारी दिए।

उनले सजायमा ३ वर्षभन्दा बढी कैद हुने प्रकृतिका मुद्दामा प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने कानुनी प्रावधान हुँदा सबै प्रतिवादीलाई थुनामा राख्ने माग गरिने उल्लेख गरे।

सहयोग गरेमा सजाय आधा

जिल्ला न्यायाधिवक्ता पाठकका अनुसार सम्वीरप्रसाद तोलाङ्गे र विष्णु खड्का नामका दुई अभियुक्तले साँचोसाँचो बयान दिएर अनुसन्धानमा सघाउ पुर्याएमा उनीहरूलाई आधा सजायमात्र गर्ने गरी अदालतमा मागदाबी गरिने छ ।

सङ्गठित अपराध निवारण ऐन २०७० अनुसार ठूला प्रकृतिका सङ्गठित अपराधमा कुनै अभियुक्तले साँचोसाँचो बोलेर अनुसन्धानमा सघाउ पुर्याएमा उसलाई ७५ प्रतिशतसम्म सजाय माफी गर्न सकिने पाठकले उल्लेख गरे ।

‘यो कानुनी प्रावधानको पहिलो अभ्यास गर्न हामी जाँदैछौँ’, उनले भने, ‘पहिलो अभ्यास भएकाले ५० प्रतिशतको अफर दिएका छौँ ।’
तोलाङ्गे थाई एअरवेजका कर्मचारी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी कसरी गरिन्छ भन्ने विषयमा उनलाई विस्तृतमा जानकारी छ भन्ने गरिन्छ ।

त्यस्तै खड्का फरार एसएसपी श्याम खत्रीका ड्राइभर हुन्।
 

प्रहरीलाई अदालतमा मुद्दै चलाउनु पर्छ 

पक्राउ परेका प्रहरीलाई विभागीय कारबाही गर्ने भनेर भित्रभित्रै लबिङ गरिएको भए पनि आफू अदालती कारबाहीकै पक्षमा अडिग भएको पाठकले स्पष्ट पारे ।

एसएसपीद्वय दिवेश लोहनी र प्रजित केसीले अनुसन्धानकै क्रममा आफू अनुसन्धानका क्रममा ‘गुड फेथ’मा आएको हुँदा अदालती कारबाही गर्न नमिल्ने तर्क प्रस्तुत गरेका छन् । तर घटनाबारे थाहा पाएर पनि उनीहरूले गुपचुप बनाएकाले र सङ्गठित अपराधका आरोपीलाई भगाउन मद्दत पुर्याएकाले विभागीय नभई अदालती कारबाही नै गरिनुपर्ने पक्षमा आफ्नो अडान रहेको पाठकको भनाइ थियो।

त्यस्तै पूर्व डिआइजी गोविन्द निरौलाले प्रहरीसमक्ष ‘गोरे आफ्ना प्रहरी सहकर्मीका छोरा भएकाले उसले अङ्कल भन्ने गरेको र म सुनको काम गर्छु सहयोग गरिदिनु पर्यो भन्दा मबाट हुँदैन’ भन्ने बयान दिएका छन् ।

गोरेले सुनको धन्धा गर्छ भन्ने धेरै अगाडिदेखि थाहा पाएर पनि निरौलाले किन छाडिदिए भन्ने प्रश्न अहम् भएको पाठकको धारणा थियो ।

प्रेमिकाको नाम मोबाइलमा अर्कै 

मुख्य अभियुक्त गोरेले आफ्नी प्रेमिका रक्षा भण्डारीको नाम मोबाइलमा अर्कै राखेको पाइएको छ। प्रेमिका रक्षाको मोबाइल नम्बर सेभ गर्दा उनले आरके मामा लेखेका थिए। 

आफ्नी श्रीमतीले रक्षाका बारेमा थाहा पाउँछिन् भनेर गोरेले यसो गरेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell