काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ सय किलो सुन तस्करीको अनुसन्धानका क्रममा तस्करीका अनौठा तरिकाहरु समेत खुलेका छन्।
यसअघिका अनुसन्धानले भन्सारका कर्मचारीहरुसमेतको सेटिङमा भन्सार हुँदै सुन तस्करी भएको देखिएको थियो भने यस पटक भन्सारलाई छल्दै विमानबाट सीधै विमान कम्पनीका स्थानीय कर्मचारीहरुको मद्दतबाट विमानस्थलबाट सुन सुरक्षित रुपमा बाहिरिएको देखिएको छ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको छानबिन प्रतिवेदनसमेतका आधारमा मोरङ जिल्ला अदालतमा बुझाइएको मिसिलमा विभिन्न प्रतिवादीहरुको बयानबाट सुन तस्करीको नौलो तरिका यसरी खुलेको छ -
१) सुन ल्याउने व्यक्तिले विमानभित्रको ट्वाइलेटको डस्टबिनमा राख्ने।
२) विमानका कर्मचारीले डस्टबिनबाट त्यो सुन निकाल्ने।
३) त्यो सुन विमानमा यात्रुहरु ओर्लनको लागि लगिने भर्याङमा विशेष किसिमको बनाइएको प्वालमा छिराउने। जहाजमा यात्रुहरु चढ्ने र ओर्लने इन्जिनसहितको भर्याङ हुनेगर्छ। त्यसको मेन च्यानलमा रहेको प्वालमा बोल्ट लगाई बीचमा सुन अड्किने ठाउँ बनाइएको हुन्छ।
४) यात्रुहरु चढ्ने र ओर्लने काम सकिएपछि भर्याङलाई सुरक्षित रुपमा विमानस्थलको ग्यारेजमा राख्ने।
५) राति भएपछि भर्याङको प्वालबाट सुन निकाल्ने।
६) निकालिएको सुन शरीरमा लुकाई आयल निगमको गेट हुँदै एयरपोर्टबाट बाहिरिने।
७) मोटरसाइकलमा सुन राखी तस्करले भनेको ठाउँमा सुन पुर्याउने।
विमानका कर्मचारीको मात्र सेटिङले विमानस्थलमा भन्सार लगायतका अन्य सुरक्षा निकायसितको सम्पर्कमै नरही सुन यसरी सजिलै तस्करी हुने देखिएको छ।
व्यवस्थापन कसरी हुन्थ्यो?
अनुसन्धानमा थाइ एयरवेजको दुबई हुँदै आउने उडानबाट धेरै सुन तस्करी भएको देखिएको छ। यसका लागि व्यवस्थापन यसरी हुने गर्थ्यो-सुन मगाउनेले सेटिङ मिलाउने मुख्य ठेकेदारसित कुरा गरेपछि थाइ एयरलाइन्सका कर्मचारीहरुबीच सेटिङ मिलाउने। सेटिङ अनुसार ट्वाइलेटलगायत सफा गर्ने ड्युटी सेटिङ मिलाइएका कर्मचारीको टिमलाई दिने। सोही टिमका एक जनालाई ट्वाइलेट सफा गर्ने, सुन निकाल्ने र भर्याङको प्वालमा खसाल्ने जिम्मेवारी दिने। ट्वाइलेट सफा गर्न पस्दा एयरहोस्टेज र अरु क्याबिन क्रुलगायत मानिसको आवतजावत व्यवस्थापन गर्ने जिम्मेवारी अर्को केही मानिसहरुले लिने।
थाइ एयरको हेल्पर टेक्निसियनका रुपमा काम गर्ने तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले कसको जिम्मेवारी के हुन्थ्यो भनी बयानमा खुलाएका छन् -
• सुनको पिसहरू प्वालमा हाल्ने समयमा गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र सानु बन (सिनियर प्राविधिक जसको यो कान्डपछि एयरपोर्टभित्रै गाडीले किचेर मृत्यु भइसकेको छ) भर्याङमा बसेर मान्छेहरू मानिसहरुको आवत जावत व्यवस्थापन गर्ने
• पुण्यप्रसाद लामा तामाङ र सम्बिरप्रसाद तोलाङ एयर होस्टेजहरूलाई रोक्ने र अरू स्टाफलाई वाच गर्ने
• जहाजभित्र भएको ब्लाङकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्ण श्रेष्ठले, भर्याङ जोड्ने र ग्यारेजमा लग्ने एल बी मगर भन्ने लाल बहादुर मगरले, रात परेपछि भर्याङबाट सुन निकाल्ने काम गोपालकुमार श्रेष्ठ र वीरेन्द्र मान श्रेष्ठले गर्ने
• सुन झिकिसकेपछि प्रायः गोपालकुमार श्रेष्ठले प्रयोग गर्ने गरेको बा ३९ प ९३० नं.को स्कुटीमा खुट्टा राख्ने ठाउँमा बनाएको सेभ ठाउँमा लुकाएर गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले लाने।