
काठमाडौ : ११औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को यती बेला मिड सिजन चलिरहेको छ। आधा भन्दा बढी खेल सकिँदा सहभागी ८ टोलीमध्ये कून-कून ४ टोलीले प्लेअफमा स्थान बनाउन भन्ने कौतुहलता सुरु भइसकेको छ।
साविक विजेता मुम्बई इन्डियन्सले यो सिजन निकै खराब प्रदर्शन गरेको छ। सर्वाधिक ३ पटकको च्याम्पियन समेत रहेको रोहित शर्माको मुम्बईले खेलेका ८ मध्ये २ खेल मात्र जितेको छ र अंक तालिकामा पुछारमा छ।
उता महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स ८ मध्ये ६ खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा छ। ८ खेलबाट १२ अंक नै जोडेको सनराइजर्स हैदरावाद रनरेट पछि पर्दै दोस्रोमा छ।
यसैगरी खेलाडीहरुमा पनि केही खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
व्यक्तिगत प्रदर्शनमा हेर्ने हो भने दिल्ली डेयरडेभिल्सका खेलाडीहरु अगाडी छन्। अहिलेसम्म दिल्लीका खेलाडी नै सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन्।
दिल्लीका युवा विकेटकिपर ब्याट्सम्यान रिसव पन्त सर्वाधिक रन बनाउने सूचीमा अगाडी छन्। पन्तले ९ खेलमा ३८५ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च स्कोर ८५ रन हो।
चेन्नाईका अम्बाटे राएडु (३७०) दोस्रो, बैंगलोरका कप्तान विराट कोहली (३४९) तेस्रो तथा हैदरावादका कप्तान केन विलियमसन (३२२) चौथो स्थानमा छन्। दिल्लीकै कप्तान श्रेयास अयेर ३०७ रनका साथ पाँचौ स्थानमा छन्।
सर्वाधिक रन बनाउने शीर्ष दशको सूचीमा पन्तसँगै दिल्लीका २ खेलाडी छन् भने चेन्नाईका सर्वाधिक ३ खेलाडी छन्। यस्तै बैंगलोरका २ तथा सनराइजर्स हैदरावाद, मुम्बई इन्डियन्स र राजस्थान रोएल्सका १-१ खेलाडी छन्।
यसैगरी दिल्लीकै ट्रेन्ट बोल्ट ९ खेलबाट १३ विकेट लिँदै सर्वाधिक विकेट लिनेको सूचीमा अगाडी छन्। मुम्बईका मायांक मार्कन्डे र हार्दिक पाण्ड्या, बैंगलोरका उमेश यादव तथा हैदरावादका रसिद खान ११ विकेटका साथ बोल्टलाई पछ्याइरहेका छन्। यस सूचीमा मुम्बईका ५ र हैदरावादका २ खेलाडी शीर्ष दशमा छन्। बैंगलोर र पञ्जावका १-१ खेलाडी यो सूचीमा अटाएका छन्।