PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने



दिनेश खड्का

तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने

काठमाडौं: भूकम्प गएको करिव ३ बर्षपछि तातोपानी नाका नजिकैको लार्चाको सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ।

तातोपानी सुक्खा बन्दरगाह पुनर्निर्माण सम्वन्धमा भएको सहमति कार्यान्वयनका लागि  नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
 
चीनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी चीनियाँ रेलवे (सिआरसिसि) ले आजैबाट काम सुरु गरेर १ बर्षभित्रमा सक्ने लक्ष्य राखेको छ। 
 
२०७२ सालमा गएको भूकम्पले क्षति पुर्‍याएपछि निर्माण कार्य रोकिएको थियो। तातोपानी सुक्खा बन्दरगाह पुननिर्माण गरि सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चीनियाँ राजदुतावासवीच २०१७ मार्च ३१ मै हस्ताक्षर भएको थियो। 
 
तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालार्इ निरन्तरता दिन ‘पोष्ट डिजाष्टर रिकभरी प्रोजेक्ट’ बनाएर त्यसलार्इ तीन भागमा विभाजन गरि आयोजनाको काम पुरा गर्ने लक्ष्य लिर्इएको थियो। 
 
प्रोजेक्टको आपतकालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालार्इ निरन्तरता दिने सम्झौता अनुसार चिनियाँ पक्षले तातोपानी सुक्खा बन्दरगाहको सम्वन्धमा दुर्इवटा काम चीनियाँ पक्षले गरिसकेको थियो। तर आयोजनालार्इ अघि बढाउने काम भने बाँकी नै थियो। 
 
करिब तीन सातादेखि नै चीनियाँ पक्षले क्याम्प निर्माण साइट क्लियर, बन्दरगाह पुग्ने पहुँचमार्ग लगायतको काम  गरिरहेको थियो। आजबाट भने बन्दरगाहको पुननिर्माण नै सुरु भएको हो। 
 
बन्दरगाहसम्म पुग्नका लागि भोटेकोसी पक्की पुलसमेत निर्माण हुने छ। अन्तिम चरणमा निर्माण भैरहेको पुल भोटेकोसीमा आएको बाढीले बगाएपछि पुन निर्माण गर्न लागिएको हो।
 
चीनियाँ सरकारका प्रतिनिधि झाङ फ्यानले चीनियाँ ४० जना प्राविधिक र अरु थप कामदारले आजैबाट काम थालेको जानकारी दिए। त्यसैगरि उनले प्रोजेक्टमा नेपाल सरकारको पुर्ण सहयोग भएमा समयमै पुरा हुने समेत दाबी गरेका छन्।
 
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतले आवश्यक सहयोगका लागि नेपाल सरकार तयार रहेको बताए। यो बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट हुने चीन नेपाल व्यापारमा सहज हुने उनले बताए। भुकम्पपछि चीनियाँ नाका भने बन्द छ।
 
यो बन्दरगाह चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भैरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। चीन र नेपाललार्इ जोड्ने मितेरी पुलबाट साढे छ किलोमिटर तल सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो। यो करिव ९० रोपनी क्षेत्रफलमा फैलने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell