PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

एमालेसँग एकताको अलमलमा उपेन्द्र यादव र बाबुराम भट्टराईसँग प्रचण्डको हेलमेल बढ्दो



बीपी साह

एमालेसँग एकताको अलमलमा उपेन्द्र यादव र बाबुराम भट्टराईसँग प्रचण्डको हेलमेल बढ्दो

काठमाडौं : नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एकै साता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईसँग दोस्रो पटक छलफल गरेका छन्।

अघिल्लो साता यादव र भट्टराईसँग छलफल गरेका प्रचण्डले आज बिहान पुनः दुवै नेतासँग छलफल गरे। प्रचण्डका यी छलफललाई सार्वजनिक गरिएको छैन।

अघिल्लो छलफलका विषयमा बिहीवार प्रचण्डले पार्टीको सचिवालय बैठकमा ब्रिफ गरेपछिमात्र नेताहरुले जानकारी पाएका थिए। बिहीवारको बैठकमा प्रचण्डले यादव र भट्टराईसँग वृहत गठबन्धन बनाउने विषयमा छलफल भएको जानकारी दिएका थिए।

स्रोतका अनुसार अघिल्लो छलफलमा प्रचण्डले यादव र भट्टराईलाई पार्टी एकताका विषयमा विचार गर्न आग्रह गरेका थिए। पार्टी एकता नभए पनि सुरुवातमा गठबन्धन बनाएर अगाडि बढ्न प्रस्ताव गरेका थिए। 

यादव र भट्टराईको पनि आ आफ्ना पार्टीका शीर्ष नेताहरुसँग छलफल तीब्र छ। यद्यपि, छलफलमा प्रचण्डको प्रस्तावमाथि कुरा भए नभएको कसैले सार्वजनिक गरेको छैन। फोरम अध्यक्ष यादवले पार्टीभित्रका सीमित नेताहरुसँग छलफल गरे पनि भट्टराईले अधिकांश पदाधिकारीसँग छलफल गरेका छन्।

नेकपा एमालेसँग माओवादीको एकीकरणको चर्चाले राजनीति गर्माइरहँदा प्रचण्डको बाबुराम र उपेन्द्रसँगको अप्रोचलाई महत्वका साथ हेरिएको छ।

छलफल प्रचण्ड निवासमा भएको हो। 

फोरम अध्यक्ष उपेन्द्र यादवले एकीकरणको विषय नकारे। उनले त्यसबारे कुनै छलफल नभएको दाबी गरे।

‘आज प्रचण्डजीसँग भेटघाट भयो। हाल खबर के छ भन्ने कुरा भयो,’ यादवले पहिलोपोस्टसँग भने, ‘एकता वा गठबन्धनका विषयमा कुनै कुरा भएन।’

यता प्रचण्डसँग भएको छलफल बारे डा बाबुराम भट्टराईले पार्टी पदाधिकारीहरुसँग आज पुनः छलफल गर्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell