PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

राष्ट्रियसभामा क्लस्टरअनुसार गोलाप्रथाबाट कार्यकाल तय हुने सहमति



बीपी साह

राष्ट्रियसभामा क्लस्टरअनुसार गोलाप्रथाबाट कार्यकाल तय हुने सहमति

काठमाडौं : राष्ट्रियसभा सदस्यको अवधिका लागि अब क्लस्टरअनुसार प्रत्येक प्रदेशको बेग्लाबेग्लै गोलाप्रथा हुने भएको छ।

सातवटै प्रदेशमा क्लस्टर अनुसार बेग्लाबेग्लै गोलाप्रथा हुने बहुमतबाट निर्णय भएको राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सदस्य परशुराम मेघीले बताए।

मेघीका अनुसार शुक्रबारको बैठकमा बहुमतबाट उक्त निर्णय भएको हो।

छुट्टाछुट्टै गोला हान्नुपर्ने पक्षमा सत्ता पक्षका सांसदहरु थिए भने कांग्रेस र मधेशवादी दलका सांसदहरुले एउटै भाँडोमा सबै गोला हान्नुपर्ने अडान लिएका थिए।

उनका अनुसार अब अल्पसंख्यक र दलित क्लस्टरमा सातवटै प्रदेशका सदस्यहरुबीच एउटै भाँडोमा राखी गोला प्रथा हुनेछ।

राष्ट्रियसभामा एक तिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल रहने व्यवस्था छ। जसअनुसार कार्यकाल छुट्याउन सदस्यहरुबीच गोलाप्रथा गर्ने व्यवस्था छ।

समितिका सदस्य बृषेशचन्द्र लालका अनुसार गोलाप्रथाका विषयमा बहुमतले निर्णय भए पनि फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने अथवा नगर्ने विषयमा सहमति हुन नसकेको बताए।

उनले अहिले कुनै पनि निर्णय लेखिनसकिएको पनि जानकारी गराए।

मस्यौदा समितिले नियमावलीको मस्यौदा तयार पारेर सदनमा पेस गर्नुपर्नेछ। नियमावलीको अन्तिम निर्णय राष्ट्रिय सभाबाट हुनेछ।

यता प्रतिनिधिसभा नियमावली मस्यौदाको पनि टुंगो लाग्नसकेको छैन। दुवै समितिको बैठक शनिबार पुनः बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell