
काठमाडौंः बेलायतका परराष्ट्र राज्यमन्त्री नेपाल भ्रमणमा आउने भएका छन्। वेलायका एसिया र प्रसान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्री मार्क फिल्ड आइतबार नेपाल आउने भएका हुन्।
दुई दिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहित नेपाल सरकारका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको काठमाडौँ स्थित बेलायती दूतावासले जनाएको छ।
नेपालको २०० वर्ष पुरानो द्विपक्षीय सम्बन्ध विस्तारका लागि उनी नेपाल आउने लागेको दूतावासले जारी गरेको वक्तव्यमा जनाइएको छ। उनले नेपाल भ्रमणका क्रममा द्विपक्षीय व्यापार, लगानी वृद्धि र संघीयता कार्यान्वयनका लागि बेलायतले नेपाललाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।
उनी नेपालमा बाम गठबन्धनको सरकार गठन पछि नेपाल भ्रमण गर्ने पहिलो मन्त्री हुने छन्। ‘नेपालमा नयाँ सरकार गठन सँगै बेलायतबाट नेपाल भ्रमण गर्ने पहिलो मन्त्री हुन पाएकोमा खुसी व्यक्त गर्दछु,’ नेपाल आउन लागेका राज्यमन्त्री मार्कले भने, ‘बेलायत नेपालको पुरानो कूटनीतिक साझेदार हो। मैले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट गर्दै दुई देशबिचको सम्बन्ध थप सुदृढ हुनेछ।’
भ्रमणका क्रममा उनले भक्तपुरमा रहेको रेडक्रस आपतकालित केन्द्रको अवलोकन गर्ने छन्। ‘बेलायत नेपालको समृद्धि र स्थायित्वका लागि सहयोग गर्न प्रतिबद्ध छ,’ उनले भनेका छन्।