PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

प्रचण्ड र बाबुरामसँग छलफल चलिरहँदा उपेन्द्र यादवद्वारा एकताका लागि आह्वान



बीपी साह

प्रचण्ड र बाबुरामसँग छलफल चलिरहँदा उपेन्द्र यादवद्वारा एकताका लागि आह्वान

काठमाडौं : पार्टी एकताका विषयमा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका विषयमा छलफल प्रारम्भ भएको छ।

यसअघि पनि फोरम र नयाँ शक्तिबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। तर, पार्टी अध्यक्ष र अन्य पदका विषयमा कुरा नमिल्दा एकीकरण रोकिएको थियो। 

यो पनि पढ्नुस् -

नयाँ शक्ति र फोरमको एकतामा सक्रिय फोरमका एक नेताका अनुसार त्यसबेला अध्यक्ष पदकै विषयमा कुरा नमिल्दा एकीकरण रोकिएको थियो। अहिले पुनः प्रचण्डले नै तीनवटै पार्टीबीच एकताका लागि पहल गर्न लागेको उनले बताए।

शुक्रबार सम्पन्न फोरमको छौटौं केन्द्रीय समिति बैठकले पनि पार्टीहरुसँग एकताका लागि आह्वान गरेको छ। 

बैठकमा फोरमका अध्यक्षले विचार मिल्ने पार्टीहरुसँग एकीकरणका लागि छलफल भइरहेको जानकारीसमेत गराएका थिए। तर, यादवले औपचारिक कुनै सहमति नभएको बताएका थिए।

तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ,‘नीति, सिद्धान्त मिल्ने पार्टी वा संगठनहरुसँग पार्टीगत एकता र मुद्दामात्र मिल्ने शक्तिहरुसँग कार्यगत एकता एवं मोर्चागत रुपमा अगाडि बढ्ने पार्टीको नीतिलाई निरन्तर रुपमा जारी नै राखिरहनेछ।’

यसैबीच शुक्रबार नयाँ शक्ति पार्टीले पनि फोरम र माओवादी केन्द्रसँगको एकता अथवा गठबन्धनका विषयमा पार्टीभित्र छलफल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell