PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

किन छाने मोदीले जस्केलाको बाटो?



किशोर नेपाल

किन छाने मोदीले जस्केलाको बाटो?
फाइल फोटो : रोयटर्स

यस पटक नेपालले भारतसँगको कूटनीतिक सम्बन्धमा पहिलो र नयाँ अनुभव गर्दैछ। दुई दिने भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिठ्ठामोड नाकाबाट नेपाल प्रवेश गरेर जनकपुरधाममा राम–जानकीको पूजा–अर्चना गर्नेछन्। नेपालीको आकांक्षा र अपेक्षा थियो- इण्डियन एयर फोर्सको विमान चढेर मोदी महानगर काठमाडौंकै बाटो नेपाल प्रवेश गरुन्। संघीय राज्यको बीजारोपण भएपछि नेपालका थुप्रै ठूला शहरहरू महानगर भएका छन्। यो स्तम्भकारलाई आश्चर्य पनि लाग्यो, “ऋषिमन” का नरेन्द्र मोदीजीले काठमाडौंको मूल ढोकाबाट नेपाल प्रवेश नगरेर किन छानेका होलान् जनकपुरधाम प्रवेश गर्न जस्केलाको बाटो? यसमा सामान्य नेपाली आश्चर्यचकित हुनु स्वभाविक हो। किनभने, अहिलेसम्म भिठ्ठामोड जस्तो सानो नाकाको बाटो मोदी जस्ता अत्यन्त महत्वका अन्तर्राष्ट्रिय व्यक्तित्वको के कुरा? भारतीय राज्य बिहारका सामान्य डीएम पनि नेपाल भित्रिएका छैनन् होला। 

स्थलमार्गबाट नेपाल भारतबीच आवागमनको मुख्य र सुविधाजनक बाटो जनकपुर–जयनगर हो। मानिसकै कुदाइ बराबर महोत्तरीको बिजलपुराबाट जनकपुरहुँदै जयनगरसम्म कुद्ने छोटीलाइनको रेलवेले यो भेग वा इलाकाका मानिसहरूको आवश्यकता पूरा गर्न ठूलो मद्दत गरेको थियो। जयनगरको सीमामा रहेको खजुरा भन्सारबाट महिनाथपुर हुँदै जनकपुर आइपुग्ने यो रेल असमयमा नै थोत्रो भयो। मर्मत सम्भारका लागि रेलवेले कमाउने दैनिक आम्दानी पर्याप्त थिएन। त्यसैले नेपाल सरकार, त्यो पनि राजाको सरकार, चुप बस्यो। भारतले रेलवे बनाइदिन्छु भनेर सहयोगको हात लम्कायो। तर, अहिलेसम्म बनेको छैन।

यसपटकको भ्रमणमा प्रधानमन्त्री मोदीले रेलको कुरालाई मात्र होइन, हुलाकी मार्ग लगायतका अन्य विषयलाई समेत आफनो “मनकी वात” बनाइदिए भने जनकपुरवासीको मात्र होइन, मधेशको तीब्र विकास गर्न चाहने सबै नेपालीको मन प्रफुल्ल हुने थियो। वास्तविक नेपाली जनताका लागि मधेशको महत्त्व र मधेशसँगको अपनत्व अत्यन्त संवेदक छ। मधेश हामी नेपालीको जातीय उद्यान हो। यति भइदिए अतीतमा नाकाबन्दीका रुपमा नेपाल–भारत सीमामा खेलिएको खेलको पनि राम्रै क्षतिपूर्ति हुने थियो।

नरेन्द्र मोदी जनकपुरको बाटो नेपाल पस्नु हामी सोझा–साझा, लाटा–गाँडा नेपालीका लागि अनौठो कुरा भए पनि यसका दुरगामी प्रभाव पक्कै रहनेछ। नेपाल र भारतबीचको सीमा त्यति सजिलो छैन जति बताइँदै आइएको छ। पहिले पनि नेपाल र भारत सीमामा पर्ने ठाउँमा डाँकुहरूको आतंकको कुरा सुनिन्थ्यो। राजाको नेतृत्वको पन्चायतकालमा राजाका विरोधीहरूको हत्या गर्न तत्कालीन नेपाली सुरक्षाले सीमानाका डाँकुहरूको प्रयोग गर्दथे। यो कुरा काठमाडौं शहरमा दन्त्यकथा जस्तो लागे पनि यहाँका मानिसले घटना बिर्सिएका छैनन्। अहिले पनि, सीमा पूरै सुरक्षित छैन होला। तर, सुरक्षाकर्मीसँग आधुनिक प्रविधि र संयन्त्र हुने हुनाले नेपाल भारत सीमा तुलनात्मक रुपले सुरक्षित छ। नरेन्द्र मोदी भारतका जन नेता हुन्। जनताका नेताहरू जनतासँग घुलमिल गर्न चाहन्छन्। भिठ्ठामोडको बाटो जनकपुर छिर्दा मोदीको आँखाले महोत्तरीको महत्वपूर्ण शहरी गाउँ जलेश्वर र त्यसपछि पिपरा लगायतका थुप्रै अविकसित गाउँको तस्बिर खिच्नेछ। सामान्य मानिसका लागि मोदीको भ्रमण उत्सवकै रुपमा प्रस्तुत हुनेछ। 

यसपटक मोदी भ्रमणको पहिलो उद्देश्य राम–जानकीको पूजा अर्चना हो भन्ने त स्पष्ट नै छ। यसमा नेपालका प्रधानमन्त्री केपी ओली विशिष्ट पाहुनाको स्वागतका लागि मन्दिर परिसरमा उपस्थित हुने अनुमान गर्न सकिन्छ। मोदीले गंगासागरको पनि दर्शन गर्नेछन्। जानकी मन्दिरका परिसरमा रहेका कुनै पनि धार्मिक र ऐतिहासिक महत्वका मूर्ति र मन्दिरहरू बाँकी रहने छैनन्। मोदीले जनकपुर र अयोध्याका बीच सम्बन्धको डोरी कति कसिलो छ त्यसको उदाहरण आफ्नै आँखाले देख्नेछन्। अयोध्यामा राम मन्दिर निर्माणका लागि नेपालका हजारौं हिन्दूहरू एकएक ईटा बोकेर कारसेवामा गएका थिए। ती दृश्यहरू यो स्तम्भकारको आँखामा अहिले पनि चम्किइरहेका छन्। 

जनकपुरधामको रंगभूमि मैदानमा मोदीको नागरिक अभिनन्दन गर्ने एउटा मुख्य कार्यक्रम राखिएको छ। खास नाम रंगभूमि भएपनि बाह्रविघाका नाम सुप्रचलित भएको यो भूमिको महत्व धार्मिक र राजनीतिक दुवै छ। राम–जानकी परिसरमा रहेको यो भूमि कतिपय धार्मिक कार्यक्रमहरूको मूल थलो हो। राजनीतिक पार्टीहरूले यहीँबाट आफ्ना सपना सुनाउने गरेका छन्। चार दशकअघि यो भूमिको आयतन ठ्याक्कै बाह्रविघा थियो। अहिले यो खुम्चिँदै गएर वाह्र विघाको आधा नै भइसकेको हुनु पर्दछ। सार्वजनिक जग्गाहरूको सुरक्षामा सरकार र स्थानीय सरकारले पटक्कै चासो नलिने रोगले नेपालका सार्वजनिक सम्पत्तिमा खिया लाग्दै गएको छ। रंगभूमि त्यसैको एउटा जीवित उदाहरण हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमण नेपालको प्रादेशिक विभाजनपछि हुन लागेको छ। जनकपुरधाम अहिले प्रदेश नम्बर दुईको राजधानी बनेको छ। प्रदेशसभाले नतोकेसम्म प्रदेश नम्बर दुईको नाम र राजधानी पनि निश्चित हुँदैन। यद्यपि, मधेशमा धेरै महत्वपूर्ण स्थानहरू छन् तर ती सबैमा जनकपुरधामको महत्त्व सर्वाधिक छ भन्न कुनै अप्ठेरो छैन। जनकपुरधामको समानान्तरमा वीरगंज शहर छ। तर, त्यो आर्थिक र औद्योगिक शहर हो। सांस्कृतिक हिसावले वीरगंजवासी हिन्दुहरू र संस्कृतिप्रेमी जनकपुरधामप्रति नतमस्तक छन् भन्ने त यहाँका ज्ञानी र भलाद्मी  मुख्यमन्त्रीले बुझ्नुभएकै छ। अन्ततः जनकपुरधाम नै दुई नम्बर प्रदेशको केन्द्र हुने देखिन्छ। 

हाम्रा कुनै पनि शहरहरूमा शहरको स्वभाव छैन। विराटनगर, नेपालगंज, वीरगंज, जनकपुरसँग शहरका तत्वहरू छन्। तर, त्यसको संयोजन गरिएको छैन। संयोजनको मामिलामा काठमाडौं शहर पनि निकै पछि छ। राजा महेन्द्रका पालामा जग हालिएका महेन्द्रनगर र राजविराजजस्ता शहरहरूले अहिलेको जनसंख्या धान्न सक्दैन। ती सारै साना छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम र त्यस वरपरको क्षेत्रको यथास्थितिमा दर्शन गर्नेछन्। यो पनि एउटा स्वागतयोग्य विषय हुनेछ। नेपालसँग सीमा जोडिएका भारतका शहर बजारहरूको उन्नति नेपाली शहर बजारको उन्नतिसँग गाँसिएको छ। यसमा कुनै अप्ठेरो मान्नु जरुरी छैन। यतिबेला ढोलक बजाएर भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको स्वागत गर्नु हाम्रो कर्तव्य हो। अतिथि देवोः भव।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell