PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

कुनै भतिजले फुक्दैमा सरकार ढल्दैन : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

कुनै भतिजले फुक्दैमा सरकार ढल्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको म्यान्डेट पाएकाले सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन्। 

केही दिन अगाडि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले 'सरकारलाई फु गरेर ढाल्ने' भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार 'लुलो नभएको' बताए। 

नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ धेरै पहिला उनका अंकलले गफ दिएका थिए, सरकार फु गरेर ढाल्दिन्छु भनेर शब्द सम्झिरहेका रहेछन्।  अस्ति एउटा भतिज (शेखर कोइराला)ले फु गरेर ढाल्दिन्छु भने। माया लाग्यो।’

उनले आफूलाई तानाशाही भएको आरोप लाग्ने गरेको बताउँदै लोकतन्त्र कानुनी राज भएको बताए। ‘कतिपयले मेरो नाममा पनि भन्छन्, बढ्ता बलियो भयो भनेर। नेता बलियो हुने प्रणालीलाई तानाशाही भन्छन्। जनता बलियो हुने प्रणालीलाई लोकतन्त्र भनिन्छ। हामी लोकतन्त्रमा छौँ,’ उनले अगाडि भने, ‘तर लोकतन्त्र भनेको कुनै संरचना संगठन अनुशासन, विधिविधान केही पनि नभएको, जसो गरे पनि हुने, सुशासन नभएको लोकतन्त्रको सरकार भनेको लोकतन्त्र कायम गराउन नसक्ने कानुन कार्यान्वयन नगर्ने, त्यस्तो हुँदैन्, कानुनी राज हो लोकतन्त्र।‘

उनले देश विकासका लागि प्रतिपक्षलाई पनि साथमा लिएर अगाडि बढ्ने बताए। देश विकासमा प्रतिपक्षको समेत साथ चाहेको उनको भनाइ थियो। 

‘प्रतिपक्षले अहिले असहिष्णुता देखाएर न तुरुन्त पूरा हुनेवाला छ न स्थितिमा फेरवदल आउनेवाला छ। उहाँहरुले राम्रा काममा सहयोग र रचनात्मक भावानालाई छाडेर कराउनुमात्रै भयो भने थ्रोट प्रोब्लम मात्र हुन्छ,’ उनले भने, ‘यो पाँच-पाँच  वर्षको थ्रोट प्रोब्लमले अरु केही त हुनेवाला छैन। अनि थ्रोट प्रोब्लम किन निम्त्याउने?  यसले नेताहरुप्रति नराम्रो प्रभाव पर्छ। हामी त्यस्तो चाहन्नौँ जुनसुकै दलको होस्।’ 

प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट सरकारलाई रहेको भन्दै दृढताका साथ अगाडि बढ्नेसमेत बताए। ‘विकास निर्माणका क्रममा देश अगाडि बढाउने कुरामा दृढ छ। प्रशासनिक सुधार गराउने कुरामा दृढ छ,’ उनले भने, ‘अहिले सिन्डिकेट तोड्यो अहिलेसम्म सिन्डिकेट तोड्ने सारै गाह्रो मानिएको थियो यस सरकारले धेरै वटा सिन्डिकेट तोड्दै जान्छ। नो सिन्डिकेट। अब हुँदैन सिन्डिकेट।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell