PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

एसियाली खेलकूदका लागि बन्द प्रशिक्षण सुरु



रासस

भीमदत्तनगर : आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ।

राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारीदिए। 'बाइस जना पुरुष खेलाडीबाट छनोट गरेर १६ जना प्रशिक्षणमा छन्। अर्को चरण छनोटपछि १२ जनाको सेट टिम बन्छ।' मुख्य प्रशिक्षक भाटले भने।

एक डेढ महिना भीमदत्तनगरमा बन्द प्रशिक्षणपछि खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि भारत पठाउने गृहकार्यसमेत भइरहेको उनले जानकारी दिए। 'एशियालीमा हामीले स्तर सुधार्नाका साथै एकाध टिमलाई हराउन सक्छौँ।' भाटले भने, 'त्यहाँको अनुभवले अर्को वर्ष नेपालमा हुने साफ खेलकूदका लागि थप बल हाम्रा खेलाडीमा आउँछ।' आयोजक इण्डोनेसिया नै कबड्डीको बलियो टोली रहेको बताउँदै उनले एशियाली खेलकूदमा बलिया टोली सहभागी हुने जानकारी दिए।

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा कबड्डीसँगै भलिबल, बक्सिङ र कुस्तीको बन्द प्रशिक्षण हुने जानकारी दिए। 'हल नपाइए कुस्ती यहाँ नहुन सक्छ।' भट्टले भने, 'जेठको पहिलो सातासम्म भलिबल र बक्सिङको टिम प्रशिक्षणका लागि यहाँ आइपुग्ने भनिएको छ।'

बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको आवास तथा खानपिनको व्यवस्थापन राष्ट्रिय खेलकूद परिषद्ले गरेको भट्टले जानकारी दिए। गत फागुनदेखि भीमदत्तनगरका राष्ट्रिय जुनियर महिला कबड्डी खेलाडीको बन्द प्रशिक्षणसमेत भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell