काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको ४५ वटै जिल्लामा खेल प्रशिक्षण केन्द्र निर्माण गर्ने अभियान अगाडि बढाउने बताएका छन्।
शेर्पाले तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नका लागि भोलि बस्ने एन्फाको नयाँ कार्यसमिति बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए।
त्यस्तै ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गरिने पनि उनले जनाए। उनले भने, ‘यी एकेडेमीहरु सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरु उत्पादन गर्न पनि हामीलाई सजिलो हुन्छ, यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ।’
उनले आफू एन्फाको नेतृत्वमा आएसँगै अब फुटबल खेलाडीहरुलाई बाह्रै महिना खेल्ने वातावरण बनाउने पनि दावी गरे। उनले भने,‘१२ महिना खेल्ने वातावरण बन्नेवित्तिकै खेलाडीहरुको अभाव पनि हुँदैन, यसले खेललाई पनि गुणस्तरीयता प्रदान गर्नेछ।’
नेपाली फुटबलको विकासको लागि सबै क्लबहरुलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्यको रहेको सुनाउँदै शेर्पाले भने, ‘म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु।’ अझै पनि नेपाली फुटबल खेलाडीहरुले मासिक डेढदेखि २ लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यवसायिक लिग खेलाउने तयारी गरिरहेको उनले सुनाए।
उनले साफमा पनि नेपाललाई अब उपाधि जित्न सक्ने टिम बनाएरै छाड्ने उद्धघोष गरे। उनले भने,‘हामी एशियन गेममा पनि नेपालको पफर्मेन्स राम्रो बनाउँछौं, हामी उपाधि जित्नेगरी अघि बढ्छौं।’
शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको र अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबै खाले मिलेमतो रोक्ने विश्वास समेत दिलाए।
यस्तै आर्थिक नियमावली बनाउने र फुटबल प्रशासनलाई आइटीमा लैजाने पनि शेर्पाले बताए।
यस्तै राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दले अन्तर्राष्ट्रिय फुटबल क्लबबाट खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता खेलाडीहरु थुप्रै जन्माउने विश्वास दिलाए।