
समयसँगै अपूरा सपना र असन्तुष्टl घिस्रिरहँदा जीवन कस्तो हुन्छ? यो प्रश्नको जवाफ भोग्छन् नाटक 'तीन बहिनी'का प्रमुख तीन पात्रले। आभा (शान्ति गिरी), माया (शुष्मा कोइराला) र रीना (सुनिशा बजगाईं) आफ्नो पुर्ख्यौली थलो राजधानीबाट टाढा छन्। यी तीनको सपना भने एक छ - आफ्नो ठाउँमा फर्कने र खुशीसाथ जीवन ज्यूने। घर, जागिर र पारिवारिक बाध्यताले राजधानी फर्कने सपनामा ब्रेक लागेको छ। यीसँग जे छ त्यसबाट विल्कुल असन्तोष दिएको छ। स्कूलमा काम गर्ने आभा र कल सेन्टरकी जागिरे रीना दुवै आफ्नो कामसँग र कुशप्रसादकी श्रीमती माया वैवाहिक जीवनसँग असन्तुष्ट छन्। उनीहरु पटकपटक असन्तुष्टि अभिव्यक्त गर्छन् तर समाधानको बिन्दुमा कहिल्यै पुग्दैनन्।
पिताको निधनपछि गाउँमा जीवन गुजारिरहेका तीन बहिनीको जीवनमा फरक-फरक पात्र जोडिन्छन्। कोही पारिवारिक रुपमा, केही सामाजिक त केही काम र प्रेमका नाममा। जो जोडिए ती पनि निराश छन्। निराशा मेटाएर जीवन पुन: शुरु गर्ने, बाँच्ने, नहार्ने, संघर्ष गर्ने अठोटमा पुग्नु अघि पनि एकअर्काको लागि उनीहरु तीनजना मात्र थिए र त्यो अठोटमा पुगेपछि पनि उनीहरु मात्र छन्। एकअर्काको लागि।
काठमाडौं शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक 'तीन बहिनी'लाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन्। रसियाली लेखक एन्टोन चेखवको नाटक 'थ्री सिस्टर्स'लाई अनुवाद मेघराज अधिकारीले गरे। नाटक नेपाली भाषामा रुपान्तरण गरिए पनि नेपाली समाज र परिवेशसँग भने मिल्दो नभएको भान हुन्छ। केही दृश्यमा नेपाली कविताको प्रयोग गरिएको छ तर माया पात्रले आफूलाई व्यक्त गर्दा वाचन गर्ने कविताको अघि अनुवादित संवादहरु 'लाउड' लाग्छन्। भाव कम पात्र ज्यादा लाग्छ।
***
दुई तले घरभित्रको नक्सा। मुल ढोकाबाट भित्र छिर्नासाथ बैठक कोठा। कोठामा मिलाएर राखिएका सोफा र टेबल। भित्तामा टाँसिएको दराज र सजावटका सामान र किताब। बैठकको दाहिनेतिर दीपजङ्गको कोठा। त्यो कोठाको ढोकै छेउमा उसले बजाउने पियानो। जुन पियानोसँग दीपजङ्ग सबैभन्दा नजिक छन्। दिदी बहिनीहरुसँग भन्दा पनि नजिक। बैठकको दाहिनेमा डाइनिङ हल। र, अन्य कोठाहरु। घरको माथिल्लो तलामा एउटो कोठा देखिन्छ। जहाँ एउटा खाट छ, एउटा दराज, ऐना र कुर्सी। नाटक अवधिभर पात्रहरु यही सेटिङ वरपर घुम्छन्।
नाटकको सबैभन्दा उत्कृष्ट पक्ष त्यही सेटिङ नै लाग्छ। मञ्चको परिकल्पना र व्यवस्थापनका लागि गरिएको मेहेनतले दर्शकको ध्यानाकर्षण गराउँछ। सेट परिवर्तन नगरी पनि समय, घटना र अवस्थाहरु फेरिन्छन्। समय फेरिन्छ तर एउटा घरभित्रको माहोल उस्तै रहन्छ। पात्रहरुको सेटिङसँगको अट्याचमेन्ट दर्शकलाई महसुस हुन्छ। जीवनको ११ वर्ष बिताएको घर छोडेर जान मन भएको कुरा संवादमार्फत त भनिन्छ। तर, भाइ दीपजङ्गले घर धितो राखेको थाहा पाउँदाको छट्पटीले उनीहरुको त्यस घरप्रतिको लगाव प्रष्ट पार्छ। तीन बहिनी भावनात्मक र भौतिक रुपमा घरसँग जोडिएका छन्।
पात्रहरुको असन्तुष्टि, मानसिक अस्थिरता देखाउन उस्तो धेरै विम्ब, प्रतीकको प्रयोग गरिएको छैन। ती सब संवाद र व्यवहार मार्फत् देखाइन्छ। जस्तै माइली बहिनी माया। उ कुशप्रसादसँगको वैवाहिक जीवनमा खुशी छैन। उनी श्रीमान अगाडि पर्दा तर्किन्छिन्। र, विवाहित अर्को पुरुष कर्नेल आशसतोषसँग प्रेममा पर्छिन्। कुशप्रसाद पनि मायासँगको सम्बन्धबाट खुशी छैन। तर, उ सम्बन्ध जोगाउन लागिपरेको छ। पात्रहरुको अन्यौलता सजीव रुपमा चित्रण गर्न योगदान रहेको छ नाटकमा प्रयोग प्रकाश र पार्श्व संगीतको। विषेशत: पात्रहरुको अवस्था र प्रकाश संयोजनले दर्शकलाई बाँध्छ। जस्तै रीनको जन्मोत्सवमा प्रयोग उज्यालो र दीपजङ्गको वैराग्यमा प्रयोग मधुरो प्रकाश।
***
एक घण्टा पैतालिस मिनेट लामो नाटकमा निर्देशक कम, नाटकको भाषा अनुवादक हावी छन्। किनकि नाटकको संदेश संवादमार्फत् प्रवाह त हुन्छ तर नेपाली शैली र यथार्थसँग मेल खाएजस्तो लाग्दैन। निर्देशकको पात्रहरुमार्फत् जीवनका भोगाइ अभिव्यक्त गराउने प्रयासमा भने कलाकारले भरपुर साथ दिएका छन्। सानो भूमिकामा रहेका कलाकारले पनि जीवनको गम्भीर यथार्थ प्रस्तुत गर्छन्। जस्तै: घरमा काम गर्ने हजुरआमा, जो तीन बहिनीको साथ गुमाउने भयले आत्तिएकी छिन्। त्यस्तै हर्को पात्र हो आगो लागेर क्यामेरा र गीतार गुमाउने सैनिक। जनताको सेवामा खटिएको उ आफै आपतमा छ, लथालिङ्ग।
अभिनयको पाटोमा कुनै पनि कलाकारले दर्शक निराश बनाउँदैनन्। श्री ओम रोदन, युवराज घिमिरे, अस्मिता खनाल शान्ति गिरी र आन्ना देउजाको उपस्थिति उम्दा लाग्छ। अभिनयले दर्शकलाई बाध्छ। पात्रहरु पीडामा छन्, मानसिक द्वन्द्व र संघर्षमा छन् भन्ने जान्दाजान्दै पनि दर्शक हाँस्छन्। एकसाथ त्यो पीडा बुझाउन र हसाउन सफल छन् कलाकार।
***
नाटक 'तीन बहिनी'लाई आकार थिएटरले प्रस्तुत गरेको हो। शिल्पी थिएटर बत्तिसपुतलीमा मञ्चन भइरहेको नाटक मंगलबार बाहेक हरेक साँझ ५:३० बजे शुरु हुनेछ। नाटको शनिबार दिउसो १ बजे पनि अतिरिक्त सो रहनेछ। नाटकमा श्री ओम रोदन, युवराज घिमिरे, अस्मिता खनाल शान्ति गिरी, शुष्मा कोइराला, सुनिसा बजगाई, श्याम खड्का, जीवन बराल, अर्जुन न्यौपाने, सुरेश जिसी, सुलभ पाण्डे, बिकास जोशी, अमुल श्रेष्ठ र आन्ना देउजाको अभिनय रहेको छ।