PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

'अपहरणको प्रयास गर्नेलाई सघाएको आरोप'मा गाउँपालिका उपाध्यक्ष पक्राउ



राधेश्याम पटेल

'अपहरणको प्रयास गर्नेलाई सघाएको आरोप'मा गाउँपालिका उपाध्यक्ष पक्राउ

वीरगंजः पर्सा प्रहरीका एक जवानको अपहरण प्रयास तथा शान्ति सुव्यवस्था खलबल्याउन सघाएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पक्राउ परेकी छन्।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। सोधपुछको लागि पक्राउ गरिएको पर्साका एसपी गणेश रेग्मीले बताए। आन्दोलनका लागि स्थानीयलाई सघाएको तथा प्रहरी अपहरणको प्रयास गर्नेलाई सघाएको आरोपमा उनी पक्राउ परेकी हुन्।

 

स्थानीयसँग झडप

जिराभवानीपुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवामा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन्। झडपमा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ। प्रहरीलाई नै अपहरण गर्न खोजेको आरोपमा चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छुटाउन स्थानीयले इलाका प्रहरी कार्यालय सेंढवामा घेराउ गर्ने क्रममा झडप भएको हो।

घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका, प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा, प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन्।

भारतीय नागरिक बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णुभर गौरो, दिनदयाल महतो आइतबार नेपाल प्रबेश गरी मदिरा सेवन गरेर पुनः भारत फर्कँदै गर्दा दिउँसो ४ बजे एउटै मोटरसाइकलमा चारजना सवार रहेका उनीहरुलाई सीमावर्ती प्रहरी चौकी वलुवामा ड्युटीमा खटिएका प्रहरीले रोकेर चेकजाँच गरी सम्झाउँदा प्रहरीलाई नै गालीगलौज गरेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये दुई जनालाई प्रहरीको मोटरसाइकलमा र दुई जनालाई उनीहरु चढेकै मोटरसाइकलमा प्रहरी चौकीका प्रहरी हवल्दार बीरबहादुर गुरुङ समेत बसेर चौकीमा ल्याउने क्रममा प्रहरी हवल्दार गुरुङलाई नै भारतीय नागरिकहरुले भारततर्फ लगेका थिए।

अपहरण शैलीमा प्रहरी हवल्दार गुरुङलाई भारततर्फ लैजाँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। भारतीय आफन्तलाई नेपाल प्रहरीले पक्राउ गरेको भन्दै सेंढवाका स्थानीयले राति करिब साढे आठ बजेबाट प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीबिरुद्ध नाराबाजी गरेका थिए।

स्थानीयले प्रहरीको नियन्त्रणमा रहेका चारजनालाई रिहा गर्नु पर्ने माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए। ठूलो संख्यामा रहेका स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरेपछि विभिन्न स्थानबाट सुरक्षाबल थप गरिएको थियो। स्थानीयले प्रहरीविरुद्ध नाराबाजी र प्रदर्शन गर्ने क्रममा प्रहरी चौकी जानकी टोलाको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाइकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाइकल जलाएका छन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत तोडफोड गरेका छन्।

स्थानीयवासी तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। थप क्षति हुन नदिन प्रहरीले रातिदेखि नै इलाका प्रहरी कार्यालय वरिपरि सुरक्षाकर्मी परिचालन गरेको पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell