
लाहोरः पाकिस्तानका गृहमन्त्री असन इक्वालमाथि ज्यान लिने गरी आक्रमण भएको छ। आइतबार साँझ चुनावी र्यालीमा सहभागी हुने क्रममा नरवाल निर्वाचन क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो।
उनलाई शल्यक्रियापछि अस्पतालको आइसीयुमा राखिएको छ। उनका छोरा अहमद इक्बलले उनको अवस्था खतरामुक्त भएको जानकारी दिएको जियो टिभीले जनाएको छ।
इक्वाललाई आइसीयुमा २४ घण्टा चिकित्सकको निगरानीमा राखिएको छ। घाइते इक्वालको दुई वटा शल्यक्रिया गरिएको छ। एउटा शल्यक्रिया उनको शरीरमा लागेको गोली निकाल्नका लागि गरिएको थियो।
गोली उनको पाखुरा हुँदै तल्लो पेटमा पुगेर अड्किएको छ। गोली निकाल्नका लागि शल्यक्रिया गरिएको भए पनि चिकित्सकको सल्लाहमा गोली भने निकालिएन। गोली निकाल्दा ज्यान जान सक्ने भन्दै गोली ननिकालिएको समाचारमा उल्लेख छ।
गोली लागि घाइते भएका उनलाई तत्काल जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। लगत्तै उनलाई विशेष हेलिकोप्टरबाट लाहोरस्थित सर्भिस हस्पिटल पुर्याइएको थियो। त्यहाँ उनको शल्यक्रिया भएको थियो।
उनको स्वास्थ्य अवस्था बुझ्नका लागि पञ्जाबका मुख्मन्त्री तथा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहवाज सरिफ र अन्य प्रान्तीय मन्त्रीहरु अस्पताल पुगेका छन्।
घटनाको राष्ट्रपति मम्नुन हुसेन, प्रधानमन्त्री शाहीद खाकन अब्बासीलगायतले भत्सना गरेका छन्। पक्राउ परेका हुसेन धार्मिक राजनीतिक पार्टी तारिक-ए-लावाइकका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।