PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

काशी विश्वनाथ मन्दिर वरपरको घरजग्गा अधिग्रहण तीव्र, नेपालको सम्पत्ति सुरक्षित रहने



अनन्तराज न्यौपाने

काशी विश्वनाथ मन्दिर वरपरको घरजग्गा अधिग्रहण तीव्र, नेपालको सम्पत्ति सुरक्षित रहने

विराटनगर : हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल बनारसमा नेपाल सरकारको स्वामित्वमा रहेको ललिता घाटस्थित 'श्री साम्राज्येश्वर पशुपतिनाथ धर्मशाला' अन्तर्गतका भौतिक संरचना र जमिनलाई विश्वनाथ मन्दिर ट्रस्टले अधिग्रहण नगर्ने भएको छ।

वनारसका जिल्ला अधिकारी योगेश्वरराम मिश्रले नेपाली धर्मशालामै आएर नेपालको स्वामित्वमा रहेका घरजग्गा र संरचनाको अधिग्रहण नगरिने जानकारी दिएका हुन्।

धर्मशालाको समिति (ट्रस्ट)का महासचिव डा. गोपालप्रसाद अधिकारीले जिल्ला अधिकारी मिश्रले आफू लगायतका ट्रस्टका पदाधिकारी, सदस्य एवम् अन्य नेपालीको समूहलाई भेटेर नेपाल सरकारको स्वामित्वमा रहेको सम्पत्ति यथावत् राखिने बताएका हुन्।

महासचिव डाक्टर अधिकारीले पहिलोपोस्टलाई भने,  ‘विश्वनाथ मन्दिर क्षेत्रको सुधारका लागि वरपरका घर अधिग्रहण गर्न थालेको खबर पाएपछि हामी उत्तर प्रदेश सरकारलाई अनुरोध गर्न जिल्ला अधिकारीसमक्ष गएका थियौं। जिल्ला अधिकारीले उत्तर प्रदेश सरकारसित परामर्श गरेर नेपालको सम्पत्ति केही नहुने बताउनु भएको छ।’

विश्वनाथ मन्दिर क्षेत्रलाई फराकिलो र विकसित पार्न वरपरका एक सय ६६ घर भएका जमिनको अधिग्रहण गर्ने कार्य त्यहाँको प्रशासनले तीव्र बनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको वाराणसी र विश्वनाथ मन्दिर क्षेत्रलाई उत्तर प्रदेश सरकारले गुरुयोजना बनाएर सुधारको काम सुरु गरेको हो।

इतिहासअनुसार नेपालका तत्कालीन राजा रणबहादुर शाह जोगी भएर स्वामी निर्गुणानन्दका नाममा केही समय काशीमा साधनारत थिए। स्वामी निर्गुणानन्द उर्फ रणबहादुरसित उस बेलाका काशी नरेशले पनि केही समय गङ्गा किनार र विश्वनाथ मन्दिर छेउछाउ साधन गरेका थिए।
रणबहादुरको निधनपछि उनका छोरा राजेन्द्र विक्रम राजा भए र बाबुको श्राद्ध गर्न काशी गए। सोही समयमा काशी नरेशले गङ्गा किनारमा रणबहादुरले साधना गरेको थलो नेपाल सरकारलाई दिएका थिए। यही ठाउँ अहिले ललिता घाटका नामले प्रख्यात छ।

काशी नरेशले करिब ८ कट्ठा जमिन दिएको भए पनि हाल नेपालको स्वामित्वमा ३ कट्ठा जति मात्र बाँकी छ। उक्त स्थानमा एक धर्मशाला, एक वृद्धाश्रम र दुई मन्दिर छन्।

सोही स्थानलाई नेपालको स्वामित्वमा बनाइराख्न डाक्टर अधिकारीको नेतृत्वमा बनारसमा बस्ने नेपालीले उत्तर प्रदेश सरकारसमक्ष अनुरोध गरेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell