PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ओली काँध फेर्न तयार, तीन वर्षपछि प्रचण्ड प्रधानमन्त्री!



विधुर ढकाल

ओली काँध फेर्न तयार, तीन वर्षपछि प्रचण्ड प्रधानमन्त्री!
फाइल फोटो

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको विषयमा अन्तिम तयारीसँगै सहमति जुटेको छ। विवादित भनिएको एकताको ‘मोडालिटी’को विषयमा दुई पार्टीका अध्यक्षबीच सहमति जुटेको हो। 

यसअगाडि पार्टी एकतापछि दुई अध्यक्षबीच सरकार र पार्टीको नेतृत्व फेरवदल गर्ने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको बताइएको थियो। पछिल्लो समय पार्टी एकता गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकतापछि आफ्नो भूमिका के हुने भन्ने स्पष्ट हुन चाहन्थे। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली ‘काँध फेर्न’ तयार भएपछि एकतामा अन्तिम चरणमा पुगेको बताइएको छ। 


‘पार्टी एकतापछि प्रचण्डलाई प्रधानमन्त्री छाड्न केपी ओली सहमत हुनु भएको छ,’ माओवादी केन्द्रका नेता तथा पार्टी एकताका लागि गठन भएको कार्यदलका एक सदस्यले भने, ‘सरकारको नेतृत्व प्रचण्डलाई दिने सहमति भएको छ। कहिले दिने भन्ने चाहिँ जानकारी पाएको छैन।’
बालुवाटार स्रोतले पनि तीन वर्षपछि ओलीले प्रचण्डलाई प्रधानमन्त्री छाड्ने सहमति भएको जनाएको छ। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता गर्दा केन्द्रीय समितिमा दुवै पार्टीबाट योग्यता र क्षमताका आधारमा प्रतिनिधित्व गराउने सहमति भएको छ। 

‘हाललाई कुनै प्रतिशत नतोकी केन्द्रीय समितिमा दुवै पार्टीका सदस्यहरुलाई सहभागी गराउने सहमति भएको छ,’ माओवादी केन्द्रका नेता तथा पार्टी एकताका लागि गठन भएको कार्यदलका ती सदस्यले भने, ‘दुवै पार्टीबाट बराबरीको अवस्थामा केन्द्रीय समितिमा प्रतिनिधित्व हुनेछ, योग्यता र क्षमता भएका नेताहरुलाई सहभागी गराउने सहमति भएको छ।’ 

यसअघि माओवादी केन्द्रले ‘फिप्टी फिप्टी’को अडान राखेको थियो। एमालेले माओवादी केन्द्रलाई फिप्टी फिप्टी दिन नसक्ने भन्दै निर्वाचनको परिणाम अनुसार ७०–३० दिने बताउँदै आएको थियो। 

एकताका लागि दुई दलले गठन गरेको रामबहादुर थापा नेतृत्वको कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति बनाउन सुझाब दिएको थियो। सोही अनुरुप एमालेले हाल कायम रहेका आफ्ना २०० केन्द्रीय सदस्य र माओवादी केन्द्रबाट ९९ समावेश गरी केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो। 

माओवादी केन्द्रले यसमा असहमति जनाउँदै आएको थियो। पछिल्लो पटक भएको सहमतिअनुसार अब केन्द्रीय समितिको आकार बढ्ने भएको छ। बालुवाटार स्रोतका अनुसार एमालेका हाल कायम रहेका २०० केन्द्रीय सदस्य र माओवादीबाट १४९ गरी ३४९ सदस्यीय केन्द्रीय कमिटी बनाउने मोटामोटी सहमति भएको छ। तर, यसमा समेत थपघट हुन सक्ने बताइएको छ। 

‘योग्यता र क्षमताका आधारमा नेतालाई केन्द्रीय कमिटीमा ल्याउने सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रतिशत नतोक्ने सहमति भएको छ यसले संख्या तलमाथि हुन सक्छ।’ 

यसैबीच पार्टी एकता पछिको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति भने जुट्न सकेको छैन। 

पार्टी एकतापछि दुवै अध्यक्ष ‘को–चेयर’ हुने सहमति भए पनि माओवादी अध्यक्ष प्रचण्ड एकतापछिको महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुन चाहन्छन्। तर, यस विषयमा ओलीले सहमति दिइसकेका छैनन्। 

प्रचण्ड एकतापछि पार्टीको शक्तिशाली अध्यक्ष बन्न नसक्ने अवस्थामा प्रधानमन्त्री हुने गरी सहमतिमा आएको स्रोतले बतायो। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell