
काठमाडौं : प्रदर्शनरत फिल्म ‘डमरुको डण्डीबियो’ हेर्न नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल ठमेलमा रहेको छायाँ सेन्टर पुगे।
फिल्म सकिनसाथ सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस महामन्त्री कोइरालाले फिल्मले उठान गरेको विषयले आफूलाई हलसम्म तानेको बताए । ‘बाल्यकालमा विराटनगरमा डण्डीबियो खेलेको सम्झना ताजा गरायो,' उनले भने ‘फिल्मकै कारण डण्डीबियोको महत्व बढेको छ , यसलाई पुनः राष्ट्रिय खेल बनाउने पहल गर्नेछु ।’
कोइरालासँगै फिल्म हेर्न पुगेका रिजालले पनि फिल्मले राम्रो विषय उठान गरेको बताए।
छेतेन गुरुङ निर्देशित फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, बुद्धी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ। यसमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ ।