PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कसले गर्दैछ मोदीलाई नागरिक अभिनन्दन, किन आलोचित हुँदैछ जनकपुर?



विधुर ढकाल

कसले गर्दैछ मोदीलाई नागरिक अभिनन्दन, किन आलोचित हुँदैछ जनकपुर?

काठमाडौं: वैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उप महानगरपालिका र काठमाडौँ महा नगरपालिकाले नागरिक अभिनन्दन गर्दै छन्। भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनलाई लिएर जनकपुर उप महानगरपालिका र यसका मेयर लालकिशोर शाहसँगै प्रदेश २ को सरकार र मधेसी नेताहरु समेतको सामाजिक सञ्जालमा विरोध र आलोचना भइरहेको छ। 

समाजिक सञ्जालमा जनकपुर उपमहानगरले गर्ने भनेको नागरिक अभिनन्दनको चर्को विरोध भइरहेको छ। मोदीलाई जनकपुरसँगै काठमाडौँमा पनि अभिनन्दन गरिँदै छ। तर सामाजिक सञ्जालमा काठमाडौं भन्दा बढी तारो जनकपुर र प्रदेश २ सरकारको भइरहेको छ।

किन भइरहेको छ विरोध?


संविधान जारी भएसँगै मधेस केन्द्रित दलहरुले सीमा नाका केन्द्रित आन्दोलन गरे। यस आन्दोलनका क्रममा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो। ६ महिना लामो नाकाबन्दीका क्रममा नेपाल अभावमा गुज्रियो। नेपालीलाई ६ महिनासम्म दुःख दिने भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्न लागिएको भन्दै जनकपुर, त्यहाँका मेयर साहसँगै प्रदेश २ र त्यहाँको सरकार आलोचित बनेको छ।  

नागरिक अभिनन्द कसले गर्दै छ?


भारतीय प्रधानमन्त्री मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउँदै छन्। यसअघि पनि नेपाल भ्रमणमा आएका उनको जनकपुर भ्रमण गर्ने कार्यक्रम थियो। तर, त्यतिवेला हुन सकेन। प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुनसाथ मोदीको स्थगित जनकपुर भ्रमणका लागि आउन निम्तो दिएका थिए। 

आफ्नो भारत भ्रमणको क्रममासमेत प्रधानमन्त्री ओलीले मोदीलाई जनकपुर भ्रमणको निम्तो दिएका थिए। सोही अनुरुप मोदी नेपाल आउँदै छन्। 

मोदीले नेपाल भ्रमणका क्रममा सहभागी हुने हरेक कार्यक्रममा नेपाल सरकारको प्रत्यक्ष संलग्नता रहेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको मोदीको नेपाल भ्रमणको तालिकामासमेत मोदीको जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन हुने उल्लेख छ। 

नेपालको संविधान अनुसार नेपालको परराष्ट्र मामिला सम्बन्धी नीति तथा कार्यक्रममा संघीय सरकारको हात रहन्छ। स्थानीय तहलाई परराष्ट्र मामिलाका सन्दर्भमा संघीय सरकारले नै निर्देशन दिन्छ। सोही अनुरुप संघीय सरकारको निर्देशनमा जनकपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले मोदीको नागरिक अभिनन्दनको कार्यक्रम गर्न लागेका हुन्। 
नागरिक अभिनन्दन पुरानो प्रचलन भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। ‘कुनै पनि देशका हेड अफ स्टेट आउँदा यसरी नागरिक अभिनन्दन गर्ने पुरानो प्रचलन हो यो सबैतिर प्रचलित छ,’ उनले भने, ‘यसरी आयोजना गर्ने अभिनन्दन कार्यक्रम नगरपालिका महानगरपालिकाले गर्ने प्रचलन छ त्यसैको पाटोको रुपमा जनकपुरमा जनकपुर उप महानगरपालिका र काठमाडौंमा काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दै छन्।’ 

नागरिक अभिनन्दन केन्द्र सरकारसँगको समन्वयनमा गरिएको सरकारको अफिसियल कार्यक्रम भएको प्रवक्ता पौडेलले बताए। ‘यो अफिसियल कार्यक्रम नै हो, कुनै एक नगरपालिकाले मैले गर्छु भनेर हुने होइन। भ्रमणको एउटा हिस्सा नै हो,’ उनले भने, ‘परराष्ट्र मन्त्रालय (संघीय सरकार)कै योजना अनुरुप हुन लागेको हो।’
 

जनकपुर मेयर भन्छन्ः हाम्रो विरोध किन?


यता सार्वजनिक रुपमा मोदीको अभिनन्दनको विषयमा भइरहेको आलोचना प्रति जनकपुर उपमहानगरपालिकाका मेयर साह खुस छैनन्। 

‘यो अभिनन्दनलाई राष्ट्रको प्रतिष्ठासँग जोडेर हेर्नुपर्छ, यसमा विरोध र आलोचना किन?’ उनले प्रश्न गर्दै भने, ‘भारतीय प्रधानमन्त्री मोदीजी नेपाल सरकारको निमन्त्रणमा नेपाल आउँदै हुनुहुन्छ, परापूर्व कालदेखि नै नेपाल भारतबीचको सम्बन्ध रही आएको छ। यो भ्रमण त्यसैको निरन्तरता हो।’

उनले संघीय सरकारको योजना अनुसार नै नागरिक अभिनन्दन हुन लागेको स्पष्टसमेत पारे। ‘हाम्रो परराष्ट्रसम्बन्धी हरेक विषय संघीय सरकारसँग जोडिएको छ, संघीय सरकारको निमन्त्रणामा उहाँ नेपाल आउँदै हुनुहुन्छ,’ पहिलो पोस्टसँग टेलिफोनमा मेयर साहले भने, ‘हामीले संघीय सरकारको योजना अनुरुप नै नागरिक अभिनन्दन गर्न लागेका हौँ। मोदीको अभिनन्दन राष्ट्र प्रतिष्ठासँग जोडिएको कार्यक्रम हो।’
 
उनले मधेस आन्दोलनलाई जोडेर मोदीको नागरिक अभिनन्दनलाई हेर्न नहुने बताए। 

काठमाडौंमा तयारी


यता काठमाडौंमासमेत नागरिक अभिनन्दन हुने लागेको भनेपछि काठमाडौं महानगर र मेयर विद्यासुन्दर शाक्यकोसमेत आलोचना सुरु भएको छ। महानगरले आइतवार मात्र नागरिक अभिनन्दन गर्ने विषयमा निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार महानगरले नागरिक अभिनन्दन गर्ने निर्णय गरेको महानगरकी उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन्। 

काठमाडौं महानगरले नागरिक अभिनन्दनको तयारी समेत सुरु गरेको छ। महानगरभित्र मोदीको स्वागतमा स्वागतद्वारहरु निर्माण गरिने भएको छ। त्यस्तै चावहिलदेखि बौद्धसम्मको सडक कालोपत्र गर्ने तयारी समेत भएको छ। 

नागरिक अभिनन्दन गर्न लागेको भन्दै आलोचना हुनु दुर्भाग्य भएको उपमेयर खड्कीले बताइन्। 'हाम्रो संस्कार भनेको पाहुनाका स्वागत र सम्मान गर्ने हो,' उनले भनिन्, 'यो राष्ट्रको गौरवसँग जोडेर हेर्नुपर्छ, यसलाई विवादमा ल्याउनु हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell